आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन्: पर्यटन मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरूको कमी रहेको गुनासो गर्नुभएको छ ।

मङ्गलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडबाडका लागि गाउँ फर्किनेहरूको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरू रहेको र सबै सञ्चालन गर्न विमानहरूको अभाव रहेको बताउनु भयो । उहाँले आन्तरिक ट्विनअटर विमानहरू ९÷१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनअटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई थप विमान ल्याउन प्रोत्साहन गर्ने गरी सरकार अघि बढिरहेको बताउनु भयो । ७ वटा प्रदेशले सात वटा ट्विनअटर किनेर सञ्चलन गर्ने कुरा आफूले पूर्व पर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी गराउनु भयो । उहाँले राहत तथा उद्धारका लागि पनि चाहिने जति हेलिकप्टरहरू नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फ्लाइटहरूको सन्दर्भमा पनि हामीले सत्य बुझिराख्नुपर्छ । नेपालमा अहिले ५२ वटा एयरपोर्टहरू छन् । ५२ वटा एयरपोर्टमा सबै एयरपोर्ट सञ्चालन होस् भन्ने सबैको चाहना छ । तर प्लेनहरू हामीसँग छैनन् । डोमेस्टिक ट्विनएटरहरु जम्मा ९÷१० वटा मात्रै छन् । त्यसले भ्याउने अवस्था छैन । नेपाल एयरलाइन्सको त एउटा ट्विनअटर छ । मुख्य एयरक्राफ्टहरुकै कमी ठुलो समस्याको रूपमा छ । त्यसलाई समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्ने ? निजी क्षेत्रलाई पनि थप प्लेन ल्याउनुस् भन्न प्रोत्साहन गर्नुपर्ने स्थिति छ । निजी क्षेत्रलाई अप्ठ्यारो पारेर व्यवसाय नै नचल्ने अवस्था बनाए व्यवसाय छोड्ने अवस्था हुन्छ । ७ वटा प्रदेशले सात वटा ट्विनअटर किन्ने कुराको लिड गर्नुपर्ने प्रस्ताव मैले गरेको छ । तिनीहरूलाई सम्बन्धित ठाउँमा राखेर प्रदेशका पहाडी जिल्लामा चल्छन् । निजी क्षेत्रलाई गाली गरेर मात्रै हुँदैन, प्रोत्साहन पनि गर्नुपर्छ । लगानी गर, यो क्षेत्र सुरक्षित छ भनेर प्रोत्साहन गर भन्नुपर्ने छ । प्लेन नै छैन, जसरी पनि उडाइदिनुस् भनेपछि स्वाभाविक रूपमा बार्गेनिङ बढ्ने भयो । आवश्यक हेलिकप्टर नै छैनन् ।’

मन्त्री पाण्डेले सरकारसँग आन्तरिक उडानका लागि आवश्यक विमान नहुनु र निजी क्षेत्रलाई आग्रह गर्दा स्वाभाविक रूपमा बार्गेनिङ हुने गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.