मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह

सिन्धुली-  बाढी र पहिरोका कारण झन्डै एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग आज विहीबारबाट सञ्चालनमा आएको छ ।

गत असोज ११ र १२ गते आएको अविरल बर्षाले अवरुद्ध भएको मध्यपहाडी राजमार्ग खुलेको गोलञ्जोर गाँउपालिका सिन्धुलीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिनुभयो ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो ।

चार ओटा एक्स्काभेटरले निरन्तर तीन दिनदेखि पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले घुर्मी र खुर्कोट दुबैतर्फबाट सडक खुलाउन मेसिन प्रयोग गरिएको थियो ।

उपाध्यक्ष न्यौपानेले राजमार्ग खुलेपनि साना साना पहिरोको जोखिम कायम रहेकोले यात्रा गर्दा सजग भएर गर्न अनुरोध गर्नुभएको छ।

खुर्कोट-घुर्मी करिब ६० किलोमिटर सडकका दर्जनौँ स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो ।

गोलञ्जोर गाँउपालिका-२ का वडा अध्यक्ष दौलत कार्कीका अनुसार कुखुरेटारमा ठुला ढुङ्गासहितको पहिरो भएकाले पन्छाउने काम भइरहेको छ ।

बाढी पहिरोले मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्डस्थित अक्करेभिर, हैबारबेसी, बलेनी, मुर्कीबेसी कुखुरेटार  कुडुले, सुमनामबेसी, नवलपुर, निगुरेखोला, पंचकन्या लगायत दर्जनौँ स्थानमा पहिरो खसेको थियो ।

पहिरो पन्छाउन स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरु सक्रिय भएका थिए ।

खुर्कोट-घुर्मी खण्ड सुचारु भएसँगै खोटाङ, ओखलढुङगा सोलुखुम्बु, भोजपुर लगायतका पुर्वी पहाडी जिल्लाहरुमा जान आउन आउन बाटो खुलेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.