विश्व दृष्टि दिवसमा नेत्र ज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौँ – नेपाल नेत्र ज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घ अन्तरगत देशभरमा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूमा विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।
सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र आईएपिबिले बाल आँखा स्वास्थ्यलाई प्राथमिकतामा दिएकाले नेपाल नेत्र ज्योति सङ्घले पनि बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जालबाट अक्टोबर ९ तारिख अर्थात् असोज २३ गत एक दिन बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गरिनेछ ।
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभरमा सञ्चालित २८ वटा आँखा अस्पताल तथा १६० आँखा उपचार केन्द्रहरूबाट उक्त दिन १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिनेछ । ‘पछिल्लो समय विश्वभरि नै बालबालिकाहरूमा दृृष्टि दोषको समस्या बढिरहेको ले पनि यो पटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्व दृष्टि मनाइ रहेका छौ’ महासचिव चन्दले भन्नुभयो ।
नेपालमा करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टि दोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब ७ लाख बालबालिकाहरू अझै पनि दृष्टि दोषको उपचारबाट वञ्चित रहेका छन् ।
पछिल्लो समय डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले समेत बालबालिकाहरूमा दृष्टि दोषको समस्या समेत बढिरहेको बताउनुहुन्छ सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्त । ‘दृष्टि दोषको समस्या भएका बालबालिकाहरूले आँखा परीक्षण पश्चात् चस्मा लगाएमा उनीहरूको उत्तिर्णदरमा समेत ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनहरूले समेत देखाएको छ’ प्रा.डा. पन्तले भन्नुभयो ‘नेपालमा अधिकांश बालबालिकाहरू र उनीहरूका अविभावकहरुलाई समेत बालबालिकाको आँखामा समस्या भएको जानकारी समेत हुँदैन त्यसैले बालबालिकाहरूलाई हरेक वर्ष विद्यालय पठाउनु अघि आँखा परीक्षण गर्न जरुरी छ’ ।
आईएपिबिका अनुसार अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा उपचार आवश्यक पर्ने दृष्टि सम्बन्धी समस्या छ भने त्यसमध्येमा धेरै बालबालिकाहरूले सस्तो र सुलभ आँखा उपचार प्राप्त गर्न सकिरहेका छैनन् ।
त्यसै गरी कम र मध्यम आय भएका देशहरूमा दृष्टि गुमाएका बालबालिकाहरूको विद्यालय जाने सम्भावना करिब २.५ गुणाले कम हुने देखिएको छ, त्यसैले बाल आँखा स्वास्थ्यका बारेमा सबैलाई सचेत बनाई बालबालिकाहरूको आँखा सम्बन्धी समस्याहरूको समयमै उपचार गराउन आवश्यक छ ।
सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार लाइ विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आइएकोमा यो वर्षपनि विश्वभरि नै ‘आँखालाई माया गरौँ’ (बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ  ।
यस दिवसको मुख्य उद्देश्य विश्वकै प्रमुख स्वास्थ्य समस्याको रूपमा मानिएको पूर्ण वा आंशिक दृष्टिविहीनता तथा दृष्टि दोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरू (सङ्घीय, प्रदेश तथा स्थानीय सरकार,  तथा आँखा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू) लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढी एकताबद्ध र सङ्गठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नुका साथै लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम तथा यसका क्रियाकलापहरूका बारेमा सचेतना अभिवृद्धि गराई अन्धोपन विरुद्धको कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ ।
विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता सङ्गठन इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस(आईएपिबी) ले संयुक्त रूपमा मनाउन सुरु गरेको विश्व दृष्टि दिवस यो वर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोबर १० तारिख (असोज २४ गते) का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.