बाढी प्रभावित क्षेत्र खुर्कोटमा गृहमन्त्रीको निरीक्षण

बेलिब्रिजको काम समयमै सम्पन्न गर्न निर्देशन

सिन्धुली-  नेपाल सरकारका गृहमन्त्री सहितको टोलीले बाढी प्रभावित क्षेत्र सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटको अवलोकन गर्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वदार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई सहित नेपाली सेनाका सेनापति तथा उच्च पदस्थका कर्मचारी सहितको टोली खुर्कोट आएर खुर्कोटको निरीक्षण गर्नुभएको हो ।

गृहमन्त्री लेखकले खुर्कोट र रामेछाप जोड्ने सुनकोसीको पुलमा निर्माण भइरहेको बेलिब्रिजको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । गत असोज ११ र १२ गते आएको अविरल बर्षासँगैको बाढीले खुर्कोटको तल्लो बसपार्क सहित खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोसी नदीको पुलको आधा भाग बगाएको छ ।

करिब एक सय मिटर लामो पुलको रामेछाप तर्फको भाग बगाएपछि नेपाली सेनाले बेलिब्रिज निर्माणको काम गरिरहेको छ । उक्त क्षेत्रमा गृहमन्त्री रक्षा मन्त्री भौतिक पूर्वदार मन्त्रीले निरीक्षण गरी बेलिब्रिजको काम समयमै सम्पन्न गर्न निर्देशन गर्नुभएको छ स्थलगत अवलोकनका क्रममा बाढी पहिरोबाट प्रभावितहरूको विवरण जति सक्दो छिटो सङ्कलन गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन समेत दिनुभएको छ ।

बाढी प्रभावितहरूको तत्कालै विवरण सङ्कलन गरेर पठाउनुस्, स्थानीय तहका जनप्रतिनिधिहरूसँग गृहमन्त्री लेखकले भन्नुभयो, विवरणका आधारमा सरकारले तत्कालै राहत उपलब्ध गराउनेछ ।

बाढी र पहिरो प्रभावितहरूलाई तत्कालै राहत उद्धारमा प्रभावकारी काम भएको र थप आवश्यक कामहरू गर्न नेपाली सेना तथा सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन थियो ।

रामेछाप र सिन्धुली जिल्लाको बाढी पछिको अवस्थाबारे जिल्लास्थित कर्मचारीहरूसँग जानकारी गृहमन्त्रीले लिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जानकारी दिनुभयो । हामीले जिल्लाको अवस्था सन्दर्भमा गृहमन्त्रीलाई जानकारी गराएका हौ, प्रतिअ शर्माले भन्नुभयो, काठमाण्डौँबाट निरीक्षणका लागि खुर्कोट आउनु भएको थियो । केही समयको निरीक्षण प्रश्चात सिन्धुपाल्चोक तर्फ उहाँहरू जानुभयो ।

सरकार बाढी प्रभावितलाई आवश्यक राहत उद्धारका लागि प्रतिबद्ध रहेको गृहमन्त्रीले निरीक्षणका क्रममा बाढी प्रभावितसँग प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै सोही अवसरमा भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतविक्षत भएको विपी राजमार्गलाई जतिसक्दो चाडै खुलाउने गरी काम गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.