भारत सरकारव्दारा दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौँ – भारत सरकारले आज दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने काठमाडौँ स्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

३८ करोड रुपैयाँ भन्दा बढी मूल्यका यी पुलहरू भारत सरकारले अनुदानको रूपमा प्रदान गरेको हो । यी सामानहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गर्नुभयो ।

प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेपहरू आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ ।

यसका साथै, नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाइ सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टार पोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग गरेको छ ।

भारत सरकार नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामाग्री र पुनर्निर्माण प्रयासमा हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको काठमाडौँ स्थित भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.