डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई प्राधिकरणको पत्राचार
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरी महशुल भुक्तानी नगरेका उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकको गभर्नरलाई एक पत्र पठाउँदै बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गर्नु भएको हो ।
”नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड एवं ट्रङ्कलाईनबाट बिद्युत आपूर्ति लिएका उपभोक्तहरुले प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने २०७२ माघदेखि २०७५ बैशाखसम्मको महसुल बक्यौता रकमको विवरण यसैसाथ संलग्न छ । उक्त बक्यौता सम्बन्धमा प्राधिकरणबाट जारी भएको छुट बिलको बैधानिकतामा विवाद उठाई विभिन्न अदालतमा दायर भएका मुद्दामा दावी नपुग्ने र रिट निवेदनहरु खारेज भएका छन् ।महालेखा परिक्षकको कार्यालयबाट विभिन्न आर्थिक बर्षहरुको लेखापरिक्षण हुँदा उक्त बक्यौता महसुल असुली गनुपर्ने गरी बेरुजु कायम भएको छ । उक्त बक्यौता रकम भुक्तानी गर्न विभिन्न समयमा अवधी दिईएकोमा सो अवधिभित्र पनि उपभोक्ताबाट महसुल भुक्तानी नगरेकोले नेपाल बिद्युत प्राधिकरण ऐन २०४१ को दफा ३२क र आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४०(२) एवम् विभिन्न अदालतको फैसला बमोजिम बक्यौता रकम असुलीको निम्ती सम्बन्धित निकाय (कम्पनी) हरुको तल उल्लिखित रकम असुली नभएसम्म ती कम्पनीहरुले खातामा रकम जम्मा गर्न पाउने खाताबाट रकम झिक्न (Withdraw) गर्न नपाउने गरी बैंकखाता रोक्का गरी विद्युत महसुल बापतको सार्वजनिक राजश्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ। राष्ट्र बैंकका गभर्नरलाई लेखिएको पत्रमा भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्