आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न चीन भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ ।
राष्ट्रपतिको कार्याल शितल निवास पुगेर प्रधानमन्त्री ओलीले सोमवारबाट सुरु हुने आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराउनु भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका अतिरिक्त विविध विषयमा छलफल गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको थियो ।
चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको हो । आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ । त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।
“हाम्रो चीन भ्रमण सफल हुनेछ । हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छाैँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।”
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र उक्त मन्त्रालयका प्रवक्ता एवं उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बिआरआई फ्रेमवर्क’ बारे जानकारी दिनुभएको थियो ।
प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रमण्डल स्वीकृत गरेको हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छभने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटर्वाता गर्ने कार्यक्रम छ । उहाँले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम छभने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया राख्नुहोस्