ककनी गाउँपालिका २ उपनिर्वाचन ७१ प्रतिशत खस्यो मत

नुवाकोट – नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदको लागि मतदान सम्पन्न भएको छ । चार मतदान केन्द्रमा आइतवार निर्धारित समयसम्म ७१ प्रतिशत मत खसेको छ ।
ककनी २ को वडाध्यक्षका लागि दुई स्थानमा राखिएको चार मतदान केन्द्र कायम गरिएका थिए । कुल तीन हजार एक सय ७३ जना मतदाता रहेको सो वडामा आइतबार बेलुकी ५ बजेसम्म दुई हजार दुई सय ५५ जनाले मत खसालेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
ककनी २ स्थित वडा कार्यालयको क मतदान केन्द्रमा तीन सय ५५, ख मा तीन सय ७९ तथा शिवालय मावि क मतदान केन्द्रमा सात सय ७० र ख मा सात सय ५१ गरी दुई हजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिनुभयो । मतदाताले उत्साहजनक रूपमा मतदान गरेको अधिकृत थापामगरले बताउनुभयो ।
ककनी २ को वडामा गत २०७९ को स्थानीय तह निर्वाचनमा दुई हजार चार सय ५८ मत खसेको थियो । सो तुलना आइतबार को उपनिर्वाचनमा दुई सय तीन मत कम खसेको छ ।
अहिलेको भन्दा पहिलेको मतदानमा सो वडामा ७६ प्रतिशत मत खसेको थियो । यस पटक उपनिर्वाचनको मतदान सकिएसँगै मतपेटिका रुजु, सिलबन्दीलगायत आवश्यक तयारी पुरा गरेर मतगणना स्थल ककनी २ को पुरानो काउलेदेवी आधारभूत विद्यालयमा मतपेटिका पु¥याइएको छ ।
ककनीको उपनिर्वाचनमा चार वटा मतदान केन्द्र कायम गरिएका थिए । यससंगै ककनी गापा २ मा आइतबार वडाध्यक्ष पदका लागि स्थानीय तहअन्तर्गतको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ भने मतदान सम्पन्न भएसँगै मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलनको काम सकिएको छ ।
ककनी २ मा राखिएको चार मतदान केन्द्रबाट मतपेटिकाहरू मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिएको छ । सो स्थानमा गत २०७९ को स्थानीय तह निर्वाचनको भन्दा धेरै मत खसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको थियो । निर्धारित समयमा सवै मतदान केन्द्रहरुमा शान्तिपुर्ण रूपमा मतदान सम्पन्न भएको नुवाकोट प्रहरीले जनाएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको हो । यस उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
आयोगले उपनिर्वाचनका लागि १ सय ६२ मतदानस्थल र २ सय ९३ मतदान केन्द्र तोकेको थियो । आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने जनाएको छ ।
आयोगका अनुसार ककनी २ वडाको मतगणना आइतबार बेलुकाबाट सुरु गर्ने तयारी छ । ककनी २ को वडाध्यक्ष पदमा स्थानीय तह उपनिर्वाचनका लागि ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनका लागि नुवाकोटमा प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीसमेत गरी पांचसय कर्मचारी परिचालन गरिएको थियो ।
ककनी २ मा तीन हजार एक सय ७३ जना मतदाता रहेका थिए । उपनिर्वाचनमा ककनी २ मा एक हजार ५ सय २२ जना महिला र एक हजार ६ सय ५१ जना पुरुष गरी तीन हजार एक सय ७३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
गत २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट ककनी २ को वडाध्यक्षमा निर्वाचित कांग्रेसका तीलकवहादुर लामाको गत वर्ष निधन भएसँगै रिक्त रहेको वडाध्यक्ष पदमा मतदान भएको हो । वडाध्यक्षमा मुख्य दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपाका उम्मेदवारहरुवीच नै मुख्य प्रतिस्पर्धा रहेको स्थानीयवासी वताउंछन् । गत निर्वाचनमा विजयी काङ्ग्रेसका उम्मेदवार तीलकबहादुर लामाले ८ सय ८८ मत ल्याएर विजयी हुँदा माओवादीका कृष्ण घिमिरेले ७ सय ३४ मत ल्याएका थिए ।
काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष लामाको निधन भएपछि उक्त वडामा पुनःउपनिर्वाचन अन्र्तगत मतदान भएको हो । स्थानीय तहको उप–निर्वाचन अन्र्तगत वडाध्यक्ष पदको लागि भएको निर्वाचनको लागि ककनी २ को शिवालय माविमा विहान ७ वजेर १६ मिनेटमा र वडा कार्यालयमा ७ वजेर २६ मिनेटबाट मतदान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मतदान गर्न मतदाताहरुको उत्साहजनक भीड लागेको थियो भने पहिलो मतदान रेबतीरमण पुडासैनीले गरेका थिए । अशक्तहरुसमेत सहायक सामग्री चढेर मतदान गर्न पुगेका थिए ।






प्रतिक्रिया राख्नुहोस्