सडक स्तरोन्नतिको काम १५ दिन भित्र सुरु नगरे ठेक्का रुद्ध गर्ने चेतावनी

लमजुङ – पूर्वाधार विकास कार्यालय लमजुङले जिल्लाको खत्रेठाँटी–कुन्छा–सोती पसल सडक स्तरोन्नतिको काम सुचारु नगरे ठेक्का रुद्ध गर्ने चेतावनी दिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक पटक म्याद थप गर्दा समेत निर्माण कार्यले गति नलिएपछि कार्यालयले अन्तिम पटक चेतावनी दिएको हो ।
सडक निर्माण सुचारु गर्न पूर्वाधार विकास कार्यालयले १५ दिनको अल्टिमेटम दिएको छ । आर्थिक वर्ष ०७७÷७८ देखि निर्माण सुरु भएको सो सडक निर्धारित समयावधिको दोब्बर समयमा पनि काम नभएपछि समय निर्धारण गरेर काम सुचारु गर्न अल्टिमेटम दिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताउनुभयो ।
सडक निर्माणका लागि काठमाण्डौस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको थियो । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिना भित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि हालसम्म सडक निर्माणको काम सम्पन्न हुन सकेको छैन । सडक स्तरोन्नतिका लागि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पूर्वाधार विकास कार्यालयले पटक पटक चेतावनी दिँदै आएको थियो ।
पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार विगतमा सो निर्माण कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएकोले निर्धारित समयावधिमा पनि सन्तोषजनक काम नगरे कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । अन्तिम पटक काम सुचारु गर्न १५ दिनको समय सीमा निर्धारण गरी मौका दिइएको र सो अवधिमा पनि काम सुरु नभए ठेक्का रुद्ध गर्ने प्रक्रिया अघि बढाउने कार्यालय प्रमुख सिग्देलको भनाई छ ।
सडक स्तरोन्नतिका लागि यसअघि अन्तिम पटक गत फागुनमा म्याद थप भएको थियो । थपिएको म्यादभित्र पनि निर्माण कम्पनीले काम गर्न नसकेपछि निर्माण कम्पनी प्रति नै अविश्वासको वातावरण सिर्जना भएको कार्यालयले जनाएको छ ।
जिल्लाको सुन्दर बजार र मध्य नेपाल अन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा पनि गण्डकी प्रदेश सरकारबाट थप दुई करोड बजेट विनियोजन भएको छ । प्रदेश सरकारले सुरुको वर्ष सात करोड विनियोजन गरेको सो सडक स्तरोन्नति योजनामा सम्झौता अनुसार अघिल्लो वर्षकै असोजमा काम सम्पन्न भइसक्नुपर्ने थियो । तर ठेकेदारको लापरबाहीका कारण सडक निर्माण तथा स्तरोन्नतिमा अपेक्षित उपलब्धि हुन सकेको छैन । गत आर्थिक वर्षमा मात्रै सो सडकका लागि प्रदेश सरकारबाट चार करोड रुपैयाँ विनियोजन भएको थियो ।
सुन्दर बजार–२, हाँडेटार देखि मध्य नेपाल–१, निवुवाटारी सम्म करिब ११ किलोमिटर सडक दुई वर्ष भित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुबर्षिय योजना अन्तर्गत बजेट विनियोजन गर्दै आएको छ । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोती पसल तर्फ मध्य नेपाल–१, जिता बेसीबाट काम सुरु भएको थियो । निर्धारित समयमा हुनुपर्ने कार्यसम्पादन नभएपछि निर्माण पक्षलाई पटक पटक चेतावनी दिएको कार्यालयको दावि छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटार देखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटर मध्ये तिन किलोमिटर सडक ढलान गर्ने योजना थियो । सुन्दर बजार नगरपालिका अन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तिन किलोमिटर सडकमा ढलान हुने गर्नुपर्ने योजनामा उल्लेख छ ।
एक दशक अघि सञ्चालित ड्रिलिप परियोजनाबाट बनेको सडक मध्य नेपालको दुईपिप्ले देखि जिताटारसम्म यसअघिनै कालो पत्र भइसकेको छ भने यता सुन्दरवजारको परेवाडाँडा अन्तर्गत करिब एक किलोमिटर मात्रै कालोपत्रे भएको छ ।






प्रतिक्रिया राख्नुहोस्