नेपालकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

चितवन –  चितवनस्थित वाराही जङ्गल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड `टिओएफ टाइगर्स लज नेचुरिलष्ट´बाट सम्मानित हुनुभएको छ ।

परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जङ्गली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तीकरणमा पुर्‍याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो ।

अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले यस वर्षको अवार्ड हात पार्नुभएको हो । उहाँलाई गत शुक्रवार भारतको नयाँ दिल्लीस्थित बिकानेर हाउसमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । उहाँ यो अवार्ड पाउने एक मात्र महिला हुनुहुन्छ।

प्रकृतिप्रति असाधारण प्रेम र समर्पण भएकी एलिना पारिवारिक पृष्ठभूमिका कारण पनि संरक्षण क्षेत्रमा लाग्नुभएको हो । पर्यटन क्षेत्रमा क्रियाशील बुबा डी. बि चौधरी र वन्यजन्तु संरक्षणमा क्रियाशील हजुरबुबाका कारण आफूलाई पनि यसै क्षेत्रमा लाग्ने प्रेरणा मिलेको एलिनाको भनाई छ । सन् २०१९ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिना सन् २०२१ देखि वाराही जङ्गल लजसग आबघ्द हुनुहुन्छ ।

उहाँ चितवन राष्ट्रिय निकुञ्जमा चराहरूको संरक्षण परियोजनामा पनि आबद्ध हुनुहुन्छ । वाराही जङ्गल लजका महाप्रबन्धक प्रकाश चन्दले एलिनाको सफलतामा गर्व लागेको बताउनुभयो । ‘एलिनाको सफलता संरक्षण क्षेत्रमा महिलाहरूको तागत र समर्पणको उदाहरण हो । उहाँको कडा मेहनत र जोशले वन्यजन्तु र पर्यटनको परिदृश्यलाई परिवर्तन गर्दै छ । उहाँ र उहाँजस्ता हरूलाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।

‘ प्रतिष्ठित अवार्डमार्फत एलिनामात्र नभई समावेशिता र महिला सशक्तीकरणका क्षेत्रमा वाराही जङ्गल लजले अपनाएको कार्यशैली पनि सम्मानित भएको उहाँको भनाइ छ । आगामी दिनमा पनि वाराही जङ्गल लजले सशक्त र समावेशी वातावरण निर्माण गर्दै महिलालाई नेतृत्वका थप अवसर प्रदान गर्ने चन्दले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदीको किनारमा अवस्थित वाराही जङ्गल लज पर्यावरणमैत्री गन्तव्य हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.