एसीसी यू-१९ महिला एसिया कप: सुपर फोरमा आज नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं- मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आजदेखि सुपर फोर चरणका खेलहरु सुरु हुँदैछ ।
नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।
नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो । भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो ।
भारत विरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।
समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।
पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंका विरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्