लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्छ: पूर्व राष्ट्रपति यादव

काठमाडौँ- पूर्व राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताउनुभएको छ ।

सोमवार पाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको प्रतिषष्ठान प्रदेशका नवनिर्वाचित पदाधिकारीहरुलाई पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गर्नुभयो । उहाँले सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताउनु भयो । उहाँले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने बताउनु भयो । उहाँले लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ । आधा भन्दा बढी जनसंख्या भएका ठाउँहरुमा चुनाव भएको छ, यो २०२४ सालमा । अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ । जबकी लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’

कार्यक्रमा नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताउनुभएको छ ।

उहाँले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरु कन्भिन्स हुन नसकेको बताउनुभएको हो । उहाँले युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छोडेको बताउनु भयो । उहाँले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृति बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । उहाँले संविधानको ९ वर्षको अभ्यासको समिक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धी गर्यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् । कन्भिन्स छैन । सबैकुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन । अहिलेको युवा प्लेनमा उड्न पाउँदा आफूलाई सुरक्षित महशुस गरिरहेको छ ।

यसलाई चिरेर आशा र विश्वास जागृत गर्ने र हामीले नै बनाएको संविधानबाट लोकतन्त्रको बाँकी पक्षमा चाहीँ काम गर्नुपर्छ । हामीले संविधानमा लोकतन्त्रको मूल्य र मान्यतामा आधारित भनेका छौं । त्यसमध्ये एउटा मात्र आवधिक निर्वाचन भन्ने कुरा छ । आवधिक निर्वाचनले जन्माएको एउटा मात्र पक्ष भनेको सरकार हो । अहिले पनि कृतिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ । जनताले दिएको बहुमत कुनैपनि राजनीतिक दलले पुर्याउनका लागि हामीले बनाएको नौ वर्षको अभ्यासबाटै केही परिवर्तनहरु गर्नुपर्ने छ । त्यसका लागि कांग्रेस र एमाले आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म । ’

उहाँले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्रले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।

त्यसै गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताउनुभएको छ । उहाँले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताउनुभएको हो । उहाँले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताउनु भयो । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘६५ वर्षको इतिहासमा पत्रकार महासंघले जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार मात्र होइन सूचना तथा सञ्चार संप्रेषणले स्थान पनि भएको छ । यो महत्वपूर्ण कुरा हो । पत्रकार जगतले समाजमा उत्पन्न भएका विभिन्न घटनाबारे जनतालाई सुसूचित गरेको छ । सरकारलाई सही बाटोमा लाग्नको लागि खबरदारी गरेको छ । यो एउटा नरोकिने निरन्तर आन्दोलन हो जस्तो लाग्छ मलाई । लोकतन्त्रको रक्षाका लागि समेत यो एउटा नरोकिने आन्दोलन हो । यो निरन्तर चलिरहन्छ । यहाँहरुले यो आन्दोलनको लागि खेल्नुभएको भूमिकाप्रति आभार पनि दिन चाहान्छु । पत्रकारिताले समाज र लोकतन्त्रलाई गति दिएको छ ।समाजको आत्माको रुपमा काम गरेको छ ।’

उहाँले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.