छपियाको माछाको बजारीकरणका लागि डिफ्रिज सहयोग
भैरहवा – रुपन्देहीको सियारी गाउँपालिकाले सियारी ५ मा रहेको जलदेवी मत्स्य सहकारी संस्थालाई डिफ्रिज सहयोग गरेको छ । छपियाको माछाको बजारीकरण र प्रबन्धनमा टेवा पुर्याउन भन्दै गाउँपालिका र प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले डिफ्रिज सहयोग गरेका हुन् ।
छपियाको माछाले नेपालमै ख्याति कमाए पनि फ्रिजको अभावका कारण बजारीकरणमा समस्या झेल्नु परेको गुनासोलाई सम्बोधन गर्नै पालिकाले फ्रिज हस्तान्तरण गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
पालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट १० बटा फ्रिज उपलब्ध गराएको तथा सिडिएम नेपालसँगको सहकार्यमा थप ८ वटा गरी १८ बटा फ्रिज हस्तान्तरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
उक्त फ्रिज लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, सल्लाहकार विष्णु खरेल लगायतले सहकारीलाई हस्तान्तरण गर्नु भएको हो ।
फ्रिज उपलब्ध भएपछि सहकारीले माछाको बजारीकरणमा लाग्ने जनाएको छ । सहकारीका अध्यक्ष थम्मन पौडेलले पालिका र सिडिएम नेपालबाट उपलब्ध भएका फ्रिजलाई बुटवल, भैरहवा, पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा पुर्याएर छपियाको फ्रोजन गरिएको ताजा माछाको बजारीकरणमा लागिएको बताउनु भयो ।
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले छपियाको माछाको बजार प्रबन्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले सरकार, व्यवसायी र किसान मिलेर छपियाको माछालाई बजारीकरणमा ध्यान दिनु पर्ने बताउँदै भारतबाट आउने अवैध माछालाई रोक्न सरकारले सीमा सुरक्षाको निम्ति खटिएको सशस्त्र प्रहरीलाई निर्देशन दिने बताउनु भयो ।
सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी तथा सल्लाहकार विष्णु खरेलले विश्वव्यापी रूपमा परेको जलवायु परिवर्तनको असर कम गर्न हरित रोजगार कम क्षेत्रमा काम गर्दै आएको बताउँदै सहकारीलाई बजार व्यवस्थापन र प्रबन्धनका लागि फ्रिज सहयोग गरिएको बताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख नारायण काफ्ले, मत्स्य शुद्ध नस्ल संरक्षण तथा प्रबन्धन श्रोत केन्द्र रुपन्देहीका प्रमुख रमेश जैसवाल, सियारी वडा नम्बर ५ का वडा अध्यक्ष धनपति खरेल लगायतले बोल्दै छपियाको माछालाई बजारीकरण, प्रबन्धन र प्रचारप्रसारमा सबैले भूमिका खेल्नु पर्ने बताउनु भयो ।
जलदेवी मत्स्य उत्पादक सहकारी संस्थाका व्यवस्थापक पार्वती सुवेदी भट्टराईको सञ्चालन तथा सल्लाहकार मीनप्रसाद भट्टराईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्