‘नेपाली चलचित्र उद्योग बलियो रुपमा स्थापित हुने सम्भावना छ’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्र उद्योग बलियो रूपमा स्थापित हुने सम्भावना देखिएको बताउनुभएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित छैटौँ संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को समापन समारोहमा मन्त्री गुरुङले नीतिगत पक्षमा सुधार गर्दै आवश्यक बजेट र कार्यक्रमलाई व्यवस्थित गर्न सके साउथ एसियामा भारतपछि नेपाली चलचित्रको अझै राम्रो विकास हुनसक्ने बताउनुभयो ।

“चलचित्र क्षेत्रमा देखिएका समस्यालाई समधान गर्न ऐन आउँदैछ”, उहाँले भन्नुभयो, “हामी प्राकृतिकसँगै सांस्कृतिक रूपमा पनि धनी भएकाले यसले हामीलाई अन्य चलचित्र क्षेत्रको तुलनामा अब्बल हुन सहयोग गर्छ ।” उहाँले यसै वर्ष ‘इन्डोर स्टुडियो’का लागि भवन निर्माण सुरु हुनेसमेत बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदमा आएपछि सुरु गरेको कामको नतिजा विस्तारै देखिरहेको बताउनुभयो । “चलचित्रसम्बन्धी महोत्सवले विभिन्न देशका चलचित्रकर्मीलाई जोड्न र सांस्कृतिक आदानप्रदानका लागि पनि भूमिका निर्वाह गर्छ”, उहाँले भन्नुभयो, “महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा पुरयाउन मद्दत गर्छ ।”

मोहन अभिलासी निर्देशित लघुचलचित्र ‘पालो’को प्रदर्शनसँगै यही माघ १७ गतेदेखि सुरु भएको तीनदिने महोत्सवमा १५ अन्तर्राष्ट्रिय र १५ वटा राष्ट्रिय विधामा पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा राष्ट्रिय पुरस्कार समूहअन्तर्गत निर्देशकतर्फ दिनेश राउत (पुजार सार्की), चलचित्रतर्फ ‘बुलाकी’, छोटो चलचित्रतर्फ ‘रित्तो गाउँ’, महिला केन्द्रित चलचित्रतर्फ ‘पेरिओड’, बाल चलचित्रतर्फ ‘द स्कुलज वाल’, वृत्तचित्रतर्फ ‘नो मोनेस्टरी नो भिजेल’, सांस्कृतिक चलचित्रतर्फ ‘छिपागु नीला’, अभिनेतातर्फ आर्यन सिग्देल (पुजार सार्की), अभिनेत्रीतर्फ अञ्जना बराइली (पुजार सार्की), छायाकार शिव ढकाल (बुलाकी), लेखकतर्फ सानोल दास (पखेटा)लगायत पुरस्कृत हुनुभयो ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ भारतीयबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनीबाट चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाडस्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी निर्णायक रहनुभएको थियो ।

यस्तै, राष्ट्रिय प्रतिस्पर्धातर्फ सङ्गीतकार शम्भुजीत बाँस्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, निर्देशक दीपेन्द्र खनाल, निर्माता रौनकविक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन र टेलिभिजनकर्मी टीकाराम यात्री निर्णायक रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.