गोरखाको धार्चेमा निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७४ जना सेवा लिए

गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–२,स्थित केरौजामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७४ जनाले उपचार सेवा लिएका छन् ।
दुर्गम भेगका नागरिकमा सहज स्वास्थ्य उपचारको पहुँच पुर्याउन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
शिविरमा १७७ जनाले स्त्री तथा प्रसुती रोगको उपचार सेवा लिएका छन् भने ३ सय ३४ जनाले नाक,कान र घाँटीको उपचार गराएका शिविर आयोजक समितिका संयोजक एवं मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ्गले बताउनुभयो । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये १५६ जनाले युएसजी, ७२ जनाले इसिजी सेवा लिएको उहाँको भनाई छ ।
ग्रीन सिटी हस्पिटल काठमाडौँको प्राविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोगमा दुई दिने शिविर सञ्चालन गरिएको हो ।केरौजा स्वास्थ्य चौकीमा भएको शिविरमा ११७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको पूर्वपहिचानका लागि ‘भिआइए’ जाँच गरिएको गुरुङले बताउनुभयो ।
जसमध्ये १५ जनामा ‘भिआइए’ रिर्पोट पोजेटिभ देखिएपछि उनीहरुको थप परीक्षणका लागि नमुना संकलन गरी पठाइएको छ । त्यस्तै शिविरमा पाठेघर खस्ने समस्या भएका १० जना महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो । गाउँमै चिकित्सकबाट स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय नागरिक खुशी भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्