विषादी भेटिएपछि गोलभेँडा नष्ट गरियो

सुर्खेत – कर्णालीकै ठुलो तरकारी बजार सुर्खेतस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको गोलभेँडा र काँक्रामा खान नहुने विषादी भेटिएको छ ।

दाङदेखि आज बिहान सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले कृषि थोक बजारमा भित्रिएको गोलभेँडा र काँक्राको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएको हो ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत वीरेन्द्रनगर स्थित बुलबुले कृषि थोक बजारमा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा १ सय ७६ केजी गोलभेँडा र ९० केजी काँक्रा नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले जानकारी दिनुभयो ।

उहाँले प्रयोगशालाका रिपोर्ट अनुसार दाङबाट आएको गोलभेँडा र सुर्खेतको झुप्राबाट ल्याइएको काँक्राको नमुना परीक्षण गर्दा विषादी रोकावट दरको ६१ प्रतिशत बढी भेटिएको बताउनुभयो । प्रयोगशालाले उक्त गोलभेँडा र काँक्रा उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको मात्रा पाइएको भन्दै तुरुन्त नष्ट गर्न बुलबुले कृषि थोक बजारमा रहेको समितिलाई आग्रह गरिएको जनाइएको छ ।

बुलबुले कृषि थोक बजारमा दैनिक करिब ५० टन भन्दा बढी हरियो तरकारी भित्रिने गरेको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को कार्तिक १५ देखि वैशाख ८ गतेसम्म बुलबुले कृषि थोक बजारको द्रुत विषादी विश्लेषण एकाइमा १ हजार ३ सय ८५ वटा नमुना परीक्षण गरिएकोमा १७ वटामा विषादी रोकावटको दर ४६ प्रतिशतभन्दा माथि पाइएको छ ।

यस्तै उक्त तरकारीको नमुना परीक्षण गरेको मध्य २९ प्रतिशतमा विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत पाइएको छ । जुन केही पर्खेर वा पुनः परीक्षण गरेर मात्रै उपभोग सकिने केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइ सुर्खेतका प्राविधिक धनसिंह थामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.