पर्यटकीय स्थल टोड्के जोड्ने सडक ट्र्याक खुलेको १२ वर्षपछि स्तरोन्नति

म्याग्दी-  म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नतिको काम धमाधम भएको छ । जिल्लाको तिन पालिकाको संगम स्थलमा रहेको पर्यटकीय क्षेत्र टोड्केमा पर्यटकको आगमन बढाउन मङ्गलाको वडा नं. १ कु हुँदेखि पूर्ण गाउँ–हुँदै टोड्के जोड्ने र रघु गंगा गाउँपालिका–५ झिँ गाउँदेखि टोड्के जोड्ने सडक ट्र्याक खुलेको १२ वर्षपछि स्तरोन्नतिको काम भएको हो ।

चालु आर्थिक वर्ष २०८१÷८२ मा सङ्घीय सरकारको बजेट मार्फत सहरी सघन तथा भवन निर्माण कार्यालय बागलुङ मार्फत काम भएको उक्त सडकको काम ७५ प्रतिशत सकिएको छ । कार्यालयका इन्जिनियर गोपीचन्द्र आचार्यका अनुसार एक करोड बजेटमा आचार्य निर्माण सेवाले ठेक्का मार्फत ६५ लाख ३८ हजारमा काम थालेको थियो ।

सडकको घुम्ती मिलाउने, माटो सम्माउने, सडक फराकिलो बनाउने, ग्याविन वाल ११२५ घन मिटर, रिटे रिङ वाल १५७ मिटर, ८६ मिटर नाली निर्माण गर्न लागिएको इन्जिनियर आचार्यले जानकारी दिनुभयो ।

२०८१ माघ ३ गते सम्झौता भएको उक्त सडकको स्तरोन्नतिको काम २०८२ जेठ मसान्त सम्म सक्ने गरी काम भइरहेको छ । सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको रघु गंगा गाउँपालिका–५ का वडा अध्यक्ष मन बहादुर शेरमन्जाले जानकारी दिनुभयो । ‘वडा र पालिका मार्फत बजेट विनियोजन गरेर बेलाबेलामा स्तरोन्नतिको काम गरेका थियौ, उहाँले भन्नुभयो ठुलो बजेटबाट काम भएको थिएन अहिले काम भएकाले टोड्के सम्म पुग्न निकै सहज भएको छ ।’

स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन । सडक स्तरोन्नति गरेपछि सडकमा यात्रा गर्न सहज भएको झिँका स्थानीय प्रेम पुनले बताउनुभयो । विभिन्न ठाउँमा सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएकाले पहिले झिँबाट टोड्के पुग्न एक घण्टा लाग्थ्यो अहिले १५ मिनेटमा नै पुग्न सकिन्छ पुनले भन्नुभयो ।‘अहिले मात्र नभएर अब बर्खाको समयमा पनि यसरी नै सहज तरिकाले पुग्ने गरी सडक निर्माण भएमा टोड्केमा पर्यटकका आगमन समेत बढ्छ ।’

पालिका र वडाले टोड्केको स्थानीय उत्पादन र यस क्षेत्रमा पर्यटकको सहजका लागि हरेक वर्ष बजेट विनियोजन गरेर काम गरेको मङ्गला गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष एक जित रोकाले जानकारी दिनुभयो । टोड्के धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको र यसको विकासकालागि काम भइरहेको छ राकोले भन्नुभयो यस क्षेत्रको विकास सँगै प्रचार प्रसार गर्न सकेमा बेनी नगरपालिका, मङ्गला गाउँपालिका र रघु गंगा गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.