नुवाकोटको तारकेश्वरमा व्यवसाय दर्ता नगरी पसल सञ्चालन
अनुगमनका क्रममा भेटिए म्याद गुज्रेका सामग्री

नुवाकोट- बजारमा दैनिक उपभोग्य वस्तुको गुणस्तरीयताको सम्बन्धमा गुनासो आएपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले बजार अनुगमन गरेको छ । अनुगमनमा म्याद गुज्रेका सामग्रीहरू जफत गरेको छ ।
कतिपय पसल व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको पाइएको छ । दर्ता गर्न पालिकाले थप सात दिने अन्तिम अल्टिमेटम दिएको छ ।
तारकेश्वर गाँउपालिका कार्यालय दाङ सिङवाट खटिएको टोलीले तारकेश्वर ३ का पसलहरूको छड्के अनुगमन गरेको हो । गुणस्तरहीन खाद्य तथा पेय पदार्थ जफत गरिएको गाँउपालिका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाँउपालिकामा पसल व्यवसाय ७ दिनभित्र दर्ता गरी गुणस्तर सुधार्न अध्यक्ष थप अन्तिम अल्टिमेटम दिइएको छ । गाँउपालिका कर्मचारी तथा गाउँ प्रहरीको टोलीले पसलहरूको छड्के अनुगमन गरी म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका खाद्य तथा पेय पदार्थ जफत गरेको हो ।
अध्यक्ष अधिकारीले जनतासँग प्रतिकुल हुने यस्ता खाद्य पदार्थको बिक्री वितरण नगर्न विगतमा दिएको निर्देशनलाई पुनः स्मरण गराउँदै तत्कालै यस्ता पदार्थ हटाएर सफा र स्वच्छ वातावरणमा गुणस्तरीय खाद्य सामग्रीको मात्रै व्यापार गर्न गाँउपालिका का सम्पूर्ण पसल व्यवसायीहरूलाई आग्रह गरेका छन् । साथै, सबै पसल व्यवसायलाई तारकेश्वर गाँउपालिका मा सूचीकृत गरेर मात्रै सञ्चालन गर्न र ग्राहकले स्पष्ट रूपमा देख्ने गरी सामानहरूको मूल्य सूची राख्न समेत उहाँले निर्देशन दिनुभयो ।
अध्यक्ष अधिकारीले स्थानीय सरकारको निर्देशनलाई अटेर गरी गुणस्तरहिन अखाद्य पदार्थ बेच्ने र जनस्वास्थ्यमा खेलबाड गर्ने कार्य कुनै हालतमा पनि स्वीकार्य नहुने जनाउँदै अन्तिम पटक दिइएको ७ दिने थप अल्टिमेटमको समयभित्र नसुध्रिए तत्कालै पसल तालाबन्दी गरी कानुन अनुसार कारबाही अगाडि बढाउने चेतावनीसमेत दिनुभयो। पर्यटकिय तारकेश्वरमा ६ वडा रहेको छ भने सबै वडामा पुगेर अनुगमन गरिने गाँउपालिका कार्यालय दाङ सीङले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्