कोसी पहाडमा उक्लिएका सीमावर्ति भारतीय पत्रकार– ‘एसी र कुलरमा यस्तो मजा कहाँ हुन्छ?’

काठमाडौँ  –  कोसी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउँदैछ । यहि मेसोमा भारतबाट केहि पत्रकारहरु हालसालै कोसी प्रदेशमा आए । कोशी प्रदेशका तराईका सुनसरी, मोरङ देखि पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ लगायत जिल्लामा घुमे । घुम्दा सँधियारी भारतीय राज्य विहारबाट आएका पत्रकारहरु उत्साहित देखिए । बिहारबाट आएका पत्रकार आश नाारायण मिश्रले हिलेमा नेपाल टेलिभिजनसँग बोल्दै भन्नु भयो, ‘एसी र कुलरमा यस्तो मजा कहाँ मिल्छ?’ उहासँगै आउनु भएका अर्का विहारका पत्रकार कुमार अमरले पनि कोसी प्रदेशको भ्रमणमा उत्साहित भएर नेपाल आफू पटकपटक आएको र कोसी क्षेत्रमा धेरै आएको बताउनु भयो । ‘हाम्रो पनि मात्रृभाषा मैथीली हो । कोसीको र नेपालको पनि धेरै बोलिने दोस्रो भाषा मैथिली हो । घरमै आएको महँसुस हुन्छ ।’
विहारबाट सबैभन्दा नजिकका हिल स्टेसनहरु कोसी पहाडी क्षेत्रमा भएको भन्दै भारतीय पत्रकार गोपाल कुमार, धमेन्द्र कुमार धिरजले कोसीको विज्ञापन बढाइएमा थप पर्यटकहरु आउँने बताउनु भयो ।
यस्तै नेपालको भ्रमणमा पश्चिम बंगाल राज्यबाट आउनु भएका पत्रकार प्रमोद गिरीले पश्चिम बंगालका आम सर्वसाधारणमा पर्यटन चेत बलियो भएको भन्दै उनीहरुको बार्सिक भ्रमण क्यालेन्डरमा कोसी पर्न सक्ने बताउनु भयो । ‘पश्चिम बंगालका पर्यटकहरुको लागि कोशी सिक्किम र दार्जिलिङ भन्दा राम्रो गन्तव्य भए पनि नभए पनि ती भन्दा कमजोर गन्तव्इ भने होइन’, गिरी बताउनु हुन्छ । तर कोशीका सीमावर्ती इलाम, झापा र केहिलाई विराटनगरकोबारेमा जानकारी भएता पनि अरु जिल्लाबारेमा धेरै जानकारी नभएको गिरी बताउनु हुन्छ ।
सीमावर्ति पर्यटक लक्ष गर्दै प्रदेश सरकार, सीमा बजार पुग्दै व्यवशायी 
कोशी पर्यटन वर्षले आफ्नो औपचारिक घोषणमा यत्ति उत्ति पर्यटक ल्याउने भनेर तोकेको छैन । पर्यटकीय माहोल र मार्केट बढाउने लक्ष्य चै घोषित लक्ष हो । कोसीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालका खासगरि कोसीका पर्यटन प्रडक्टहरुमा नेपालीकै ध्यान नपुगेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहन्छ, ‘भारतको महाकुम्भ मेलामा करोडौँ पुग्ने भक्तजनहरुमा लाखौँ नेपालकै थिए भनिन्छ । तर यहि चतरामा लागेको कुम्भमा नेपालीहरुको भ्रमण कमजोर छ ।’ कोसीमा आन्तरिक पर्यटकहरुको मात्रै नभएर सीमावर्ति पर्यटकहरुको पनि आगमन कमजोर भएकोमा मुख्यमन्त्री कार्की चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोसीको मुख्य आकर्षण धार्मिक पर्यटन नै हो । बिहार र पश्चिम बंगालका करोडौँ जनसंख्याबाट लाखौँ पर्यटक कोसीमा तान्नुपर्छ ।’ सीमावर्ति भारतीय पर्यटक तान्न प्रदेश सरकार कस्सिएर लागेको छ । साथमा डटेर लागेका छन् पर्यटन व्यवशायीहरु । पर्यटन वर्षको निर्देशन समितिका सदस्य तथा प्रदेशका चर्चित पर्यटन व्यवशायी वासुदेव बराल अबको लक्ष भारतीय पर्यटकहरु भएको बताउनु हुन्छ । त्यहि लक्ष हासिल गर्न पर्यटन व्यवशायीहरुले सीमापारिका नजिकका पर्यटन बजारहरुमा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । ‘नेपालको संघीय राजधानी काठमाडौँ सहित विभिन्न सहरमा रोड सो गरेका छौँ’, बराल भन्नुहुन्छ, ‘भारतका सीमा बजारमा पुगेर प्रदेशका गन्तव्यहरुको प्रचार गरिरहेका छौँ । भारतीय पत्रकार तथा ट्राभल एजेन्सीहरुलाई ल्याएर प्रवद्र्धन गरिरहेका छौँ ।’ पर्यटन वर्षको कार्यक्रमहरुले आन्तरिक र सीमावर्ति पर्यटन बजारमा माहोल ल्याएर दीर्घकालिन प्रभाव पार्ने बराल बताउनु हुन्छ ।
भारतीय पर्यटकको यकिन तथ्यांक छैन, नेपाल आउन सकस हुने गुनासो
कोसी प्रदेशमा कति भारतीय पर्यटक एक वर्षमा आउँछन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । न त छ कति पर्यटक सीमा क्षेत्रबाट आए भन्ने आँकडा । कोसी प्रदेशको पूर्वी सीमाना काकडभिट्टामा पर्यटन प्रहरीले गरेको अध्ययन अनुहार कोसी प्रदेशमा आर्थिक वर्ष २०८१÷८२ मा ७१ हजार ४९१ भारतीय पर्यटकहरु आएको देखिएको छ । गत वर्षको  सावन महिनादेखि यो वर्षको असारसम्ममा यो आँकडा देखिएको हो । सबैभन्दा धेरै आगन्तुकहरु वैशाख र जेठमा क्रमशः २४ हजार ५२ र २० हजार ४७६ जना आएको देखिन्छ । सबैभन्दा थोरै सावनमा ८०९ जना देखिएको छ ।  जोगबनी नाका, पशुपतिनगर नाका, भान्टाबारी नाका आदिबाट कोसीमा आएका पर्यटकहरुको भने आँकडा उपलब्ध छैनन् ।
भारतीय पर्यटकहरु नेपाल आउन सकस हुने गुनासो छ । खासगरि सीमा नाकाबाट सवारी कटाउन सकस हुने देखिन्छ । विभिन्न पालिकाहरुले बाटै पिच्छे रसिद काट्दाको झन्झट पनि उत्तिकै छ । पर्यटन व्यवशायी वासुदेव बरालले प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अगुवाईमा भारतीय पर्यटक सवारीमा स्टिकर टाँस गरेर समाधान गर्न खोजिएपनि त्यसो हुन नसकेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहन्छ, ‘प्रहरी संघ सरकार मातहत भएकोले प्रदेशले आग्रह गर्दा गर्नैपर्ने भन्ने हुँदैनरहेछ ।’
विहारबाट आएका आगन्तुक कुमार असरले पनि यो भन्सार र अरु प्रकृयागत झन्झटले दुःख भएको गुनासो गर्नुहुन्छ । ‘आफ्नै गाडीमा नेपाल आउने विहारका पर्यटकहरु उच्च वर्गका हुन’, अमर भन्नुहुन्छ ‘तर उनीहरुले प्रकृयामा अतिरिक्त एक दिन वा दुई दिन छुट्याउने समय लाग्दा त्यो समयमा भारतकै अर्को हिल स्टेसन पुग्न सक्छन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.