स्वरोजगारको प्रवर्द्धन गर्न भरतपुर २ मा रात्रिकालीन बजार

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २ ले रात्रिकालीन बजार सुरु गर्ने भएको छ । स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रिकालीन बजार सुरु गर्न लागिएको हो ।
रात्रिकालीन बजार क्षेत्रपुरको नमस्ते चोक देखि करिब पाँच सय मिटर उत्तर तर्फसम्म रहनेछ । रात्रिकालीन बजार यही असार २७ देखि सुरु गर्न लागिएको हो र हरेक शुक्रवार बेलुका ६ बजेदेखि १० बजे सम्म सञ्चालन हुनेछ । वडा अध्यक्ष मनोज रानाभाटले वडामा रहेका स्थानीय तथा अर्ग्यानिक उत्पादनलाई बजारीकरण गर्नका लागि रात्रिकालीन बजार सञ्चालन गर्न लागिएको जानकारी दिए ।
‘आफ्नै घरमा उत्पादन भएका अर्ग्यानिक बस्तु तथा अन्य उत्पादित बस्तुले सहजै बजार पाओस् भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो, अध्यक्ष मनोज रानाभाटले भने, यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न पनि मदत पुग्छ ।’
रात्रिकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला लगायत रेस्टुरेन्ट, कपडा लगायतका स्टलहरू रहनेछन् । वडा नम्बर २ का स्थानीयले उत्पादन गरेका स्टल निःशुल्क उपलब्ध गराइने र अन्यको हकमा न्यूनतम शुल्क तोकिने उनले बताए । रात्रिकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने र सडक पेटीमा स्टलहरू राखिने व्यवस्था मिलाइएको छ ।
हालसम्म ५० वटा भन्दा बढी स्टल बुकिङ भइसकेको र अन्य व्यवसायी पनि आउने क्रम रहेको उनको भनाई छ । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ लगायत २४ सै घण्टा सिसिटिभीले निगरानी हुने अध्यक्ष रानाभाटको भनाई छ ।
बजारमा व्यवसायीको लागि सहुलियत दरमा स्टल र उपभोक्ताले समेत गुणस्तरीय तथा सहुलियत रूपमा सामान खरिद गर्न पाउनेछन् । हाल यो बजार साताको एक दिन सञ्चालन भए पनि बिस्तारै अन्य दिनमा पनि सञ्चालन गर्ने योजना वडाको रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्