नेपाल मलेसिया जोड्ने ‘नागरिक कुटनीतिज्ञ’ कुक्रेजा

काठमाडौँ । २५ वर्ष अगाडि मलेसियाका व्यवशायी दातु प्रदीपकुमार कुक्रेजाले तत्कालिन शाही नेपाली वायु सेवाका अधिकारीहरुलाई भन्नुभयो– ‘मलेसियामा उडान सुरु गर्नुहोस् ।’ नेपाली उड्यन अधिकारीहरुलाई कुक्रेजाको कुरा पत्यारिलो लागेन । ३० हजार भन्दा कम नेपालीहरु मलेसियामा कामदार थिए । विमानको लोड नपुग्ने अवस्था देखिन्थ्यो । सायद नेपाल मलेसिा सिधा उडानको व्यवशायिक संभावना नदेखेर होला नेपाली पक्षको जवाफ थियो– सिंगापुर उडान हुँदैछ । त्यहाँबाट मलेसिया त बसमै जान सकिन्छ ।’ कुक्रेजाले सम्झाइबुझाइ गरेपछि नेपाली अधिकारीहरु तयार भएर उडान सुरु गरेको र टीकट आफैँले मलेसियामा काट्न सुरु गरेको कुक्रेजा सम्झनु हुन्छ । नेपाल टेलिभिजनसँग बोल्दै कुक्रेजा भन्नुहुन्छ, ‘अहिले मलेसियामा नेपालबाट दैनिक तीन–चार उडान हुन्छ ।’
यसरी नेपाल मलेसिया जोड्न सक्रिय एक अब्बल ‘नागरिक कूटनतिज्ञ’ हुनुहुन्छ क्रुजेजा ।
सय भन्दा धेरै पटक नेपाल आगमनः धर्म पनि हो एक सेतु
कुक्रेजाको नेपाल आगमन सय भन्दा धेरै पटक भयो । २० जना मलेसियाका व्यवशायीहरुको टोली लिएर यहि जुलाई २ (असार १८ गते) देखि नेपाल आउनु भएको उहाँ नेपालको पछिल्ला ३५ वर्षको विकासको एक साक्षी हुनुहुन्छ । पछिल्लो समयमा नेपालको विकासबारेमा भन्नुहुन्छ, ‘ठूला भवन बन्न थालेका छन् । पूर्वाधार रमा प्रगति भएको छ । सडक ठूला बन्दैछन् ।’ नेपालीहरुको आय पनि पछिल्लो समयमा बढेको भन्दै उहाँले अब नेपालमा मध्यमवर्गहरु बढ्ने र व्यवशायिक सम्भावना हुने बताउनुहुन्छ । नेपालमा आफू जोडिने एक कारण धर्म भएको कुक्रेजा बताउनुहुन्छ । ‘म पनि हिन्दु र नेपालमा बहुसंख्यक हिन्दु भएकोले म आकर्षिक भए’, कुक्रेजा भन्नुहुन्छ, ‘पटकपटक पशुपतिनाथ पुगेको छु ।’

नेपाल मलेसिया जोड्ने व्यवशायिक संस्थाको नेतृत्वका १५ वर्ष
मलेसियामा सन १९५७ मा स्थापना भएको क्लालालम्पुर मले चेम्बर अफ कमर्समा जोडिएका एक मान्नार्थ सदस्य कुक्रेजा नेपाल र मलेसिया जोड्ने व्यवशायिक संस्थाका ‘नेपाल मलेसिया बिजनेस काउन्सिल’ उनैले स्थापना गरे । १५ वर्ष अगाडि स्थापना भएको संस्थाले नेपाल र मलेसियाको व्यशायिक सेतुको काम गरेको छ । यो संस्थाले नेपालमा नौँ व्यवशायिक व्यक्तित्वहरुको डेलिगेसन ल्याइसकेको छ । असार २० गते अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्ने मलेसियाली व्यवशायीको टोली कुक्रेजाकै थियो ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले भेट गर्नुभएको थियो । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँग त्यो भन्दा अगाडि नेपाल उद्योग वाणिज्य महासंघदेखि नेपाल उद्योग परिसंघ लगायतका व्यवशायिक संस्थाहरुसँग पनि भेटघाट भयो । नेपालको नीजि तथा सरकारी दुवै पक्षका नेतृत्वहरु नेपालमा लगानि ल्याउनमा प्रतिबद्ध भएको कुक्रेजाले बताए । नेपालको प्रशासकिय झन्झट भने सुधार हुनुपर्ने उहाँको सुझाव छ । ‘नेपालको इज अफ डुइङ बिजनेस इन्डेक्स्मा सुधार हुनुपर्छ’, कुक्रेजा भन्नुहुन्छ, ‘लगानीकर्ताहरु एक दिनमा आउने, अर्को दिनमा बैंक खाता खोल्न सकिने, अर्को दिनमा इजाजत लिने र १० दिन भित्रै व्यवशायिक काम सुरु गर्न सकिने अवस्था ल्याउन सकिन्छ । नेपाल भन्दा सानो देश मौरिससले सक्दा नेपालले पनि यस्तै गर्न सक्छ ।’

नेपाली उत्पादनहरु मलेसियामा लान, मलेसियाका पर्यटकहरु नेपाल ल्याउन पहल आवस्यक भएको बताउँदै कुक्रेजाले त्यसमा सरकार र नीजि क्षेत्र दुवै सक्रिय हुनुपर्ने बताउनुहुन्छ । ७० करोड बढि जनसंख्या भएको आसियानको एक प्रमुख अर्थतन्त्र मलेसियामा नेपालले कृषि, जडिबुटी, हस्तकलाका उत्पादन निर्यात गर्न सक्ने र त्यसको लागि एक नेपाल केन्द्रित वेयरहाउस मलेसियामा हुनुपर्ने उहाँ बताउनुहुन्छ । मलेसियाबाट नेपालमा एक वर्षमा २० हजार पनि पर्यटक नआउनुलाई दुःखद भन्दै उहाँ भन्नुहुन्छ, ‘साढे चार घण्टामा दुई देश जोडिन्छन् र दैनिक तीन–चार उडान हुन्छन । यो अवस्था हेर्दा राम्रो प्रचार गर्न सकेमा वर्षमा एक लाख मलेसियाली नेपाल आउन सक्छन् ।’
कुक्रेजाको नेपाल सक्रियताः व्यवशायदेखि परोपकारसम्म
मलेसियाको प्याराडाइज गु्रपका कार्यकारी अध्यक्ष कुक्रेजाका विभिन्न कम्पनीहरु छन् । उहाँकै सक्रियतामा नेपालमा केके मार्ट संचालनमा आएको छ । यसका नेपालमा १९ आउटलेट भएको उहाँ बताउनुहुन्छ । मलेसिायाले नेपालमा प्रविधि पार्क, प्लास्टिक रिसाइकल लगायतका क्षेत्रमा लगानीको वातावरण भएमा गर्न सक्ने कुक्रेजा बताउनुहुन्छ ।
कुक्रेजाको नेपाल सम्बन्ध व्यवशायको मात्रै नभएर परोपकारको पनि छ । उहाँको तारा फाउन्डेसन नेपालमा सक्रिय छ । मलेसियासहित चार देशमा सक्रिय तारा फाउन्डेसनको मर्म गरिब विद्यार्थीहरुलाई गुरुकुल शैलीमा विद्यालयपछिको कक्षा संचालन गराउने हो । अहिले मलेसियामा ३०, नेपालमा ६, दक्षिण अफ्रिकामा २ र इण्डोनेसियामा १ केन्द्र संचालनमा छन् । तारा फाउन्डेसन खोल्नुको आफ्नै कथा भएको कुक्रेजा बताउनुहुन्छ । ‘म बच्चामा प्रविधि पढ्न चाहान्थे तर आमासँग पैशा नभएर पढ्न पाइन’, कुक्रेजा भन्नुहुन्छ, ‘अहिले पनि विद्यालयको कक्षा राम्रोसँग पढ्न धनिले मात्रै सक्छन् । गरिबले ट्युसन पढ्न सक्दैनन् । तारा फाउन्डेसनको विद्यालय पछिको शिक्षाको उदेस्य उनीहरुलाई सहयोग गर्नु हो ।’ गरिवलाई राम्रो शिक्षा दिएमा उनीहरु स्नातक भएर स्तरिय काममा जोडिने कुक्रेजा बताउँछन् । ‘नेपालमा पनि गरिब बच्चाहरुलाई राम्रो शिक्षा दिएर स्नातक बनाउनुपर्छ, कुक्रेजा भन्नुहुन्छ, ‘यसले भविष्यमा नेपाल श्रमिक निर्यात गर्ने देशबाट ज्ञान निर्यात गर्ने देशमा रुपान्तरित हुनेछ ।’






प्रतिक्रिया राख्नुहोस्