मनास्लु पदमार्गमा आउने पर्यटकहरूमा फ्रान्सेली पर्यटकको सङ्ख्या बढी

गोरखा – उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने मनास्लु पदमार्गमा आउने पर्यटकहरुमा सबैभन्दा धेरै फ्रान्सबाट आएका छन् ।
आर्थिक वर्ष २०८१-०८२ मा फ्रान्सका १ हजार ४०७ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । जस मध्य ७६३ पुरुष र ६४४ महिला रहेको आयोजनाका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।
उहाँका अनुसार बिदेशीहरुकालागी पदमार्ग खुल्ला भएयता अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । ०८१ साउनदेखि ०८२ असार मसान्तसम्मको मनास्लु क्षेत्रमा कुल १२ हजार ५१२ जना विदेशी पर्यटक घुम्न पुगेको मनास्लु उनले बताउनुभयो ।
‘‘यस बर्ष मनास्लु क्षेत्रको भ्रमणमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक हो, उनले भने,‘‘मनास्लु क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ ।’’
गएको आर्थिक वर्षमा सार्क राष्ट्रका २५३ जना, अन्य राष्ट्रका विदेशी पर्यटक १२ हजार २४८ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको उनको भनाई छ ।
उक्त पदमार्गमा जाने जर्मनीका पर्यटकहरू दोस्रो स्थानमा रहेका छन् । सोही अवधिमा जर्मनीका १ हजार ३३० जना, संयुक्त राज्य अमेरिकाका ९७७ जना, नेदरल्याणका ९३८ जनाले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।
त्यसबाहेक इजरायलका ७७१ जना, बेलायतका ७३२ जना, अस्ट्रेलियाका ६८० जना, स्पेनका ४२८ जना, रसियाका ४२२ जना र क्यानडाका ४१४ जना रहेको छन् भने अन्य देशका नागरिकहरू पनि मनास्लु क्षेत्र घुम्न पुगेका छन् ।
सोही अवधिमा ११ जना नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । सामान्य तय नेपाली पर्यटकलाई शुल्क नलाग्ने भएता पनि शुल्क तिरेर जान्छु भन्नेहरूका रेकर्डमा आधारित ११ जना भएको पनि आयोजनाको कार्यालयले जनाएको छ ।
मनास्लु क्षेत्रमा गत आर्थिक वर्ष २०८०-०८१ मा ९ हजार ७८३ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ हजार ७२९ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्र घुम्न पुगेको प्रमुख शेरचनले बताउनुभयो ।
‘‘मनास्लु क्षेत्र जाने पदमार्ग अहिले निक्कै सहज र सुरक्षित पनि बनेको छ, उहाँले भन्नुभयो, ‘‘पदमार्गको प्रचार–प्रसार उत्तिकै हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्नका लागि सुविधा सम्पन्न होटलहरु निर्माण भएकाले पनि पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।’’
मनास्लु क्षेत्रमा आर्थिक वर्ष २०७९-८० मा ७ हजार ७५०, आर्थिक वर्ष २०७८-७९ मा २ हजार २२२ जना विदेशी पर्यटक घुम्न पुगेका थिए ।






प्रतिक्रिया राख्नुहोस्