प्राकृतिक खेती प्रवर्द्धन कार्यक्रम
–एकै पटक ६४ कृषकलाई कृषि सामग्री

नुवाकोट- नुवाकोटको खेतीयोग्य भुमिमा प्राकृतिक खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । यसबाट कृषकहरू निकै उत्साहित भएका छन् ।
जस अन्तरगत एकै पटक नुवाकोटको दुप्चे्श्वर गाउँपालिका ४ वेतिनीस्थित तीन गाउँका किसानहरुलाइृ कृषि सामग्रीहरू प्रदान गरिएको छ । गोल्फुभञ्ज्याङ, नयाँबस्ति र ढुँडेनीका ६४ जना कृषकहरूलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो ।
किसानहरू प्राकृतिक खेती गर्न उत्साहित भएका छन् । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत प्राकृतिक खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गोल्फुभञ्ज्याङ, नयाँ वस्ति र ढुँडेनी गाउँलाई तरकारी उत्पादनका लागि प्राकृतिक खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने अभियान सुरु गरिएको हो ।
यसै सन्दर्भमा, सो अभियानलाई सार्थक बनाउन एकै पटक ६४ जना किसानहरूलाई आवश्यक कृषि सामग्रीहरू वितरण गरिएको छ । यसबाट किसानहरूलाई प्राकृतिक खेती उत्पादनमा मद्दत पुगेको छ ।
वितरण गरिएका सामग्रीहरूमा प्लास्टिक टनेल, गार्डेन पाइप, हजारी, ड्रम, स्प्रे, ट्रे र सिकेचर जस्ता आधुनिक कृषि उपकरणहरू रहेका छन् । यसबाट किसानहरूले प्राकृतिक तरिकाले तरकारी खेती गर्न सहजता पाउनेछन् ।
यस कार्यक्रमको मुख्य उद्देश्य किसानहरूलाई प्राकृतिक खेतीको अभ्यासलाई प्रोत्साहन गर्दै उनीहरूको आय वृद्धि गर्नुका साथै स्वास्थ्यकर खाद्य प्रणालीमा पहुँच विस्तार गर्नु रहेको सहजकर्ता रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनार्ई छ । उनका अनुसार किसानहरूलाई खेतीमा रासायनिक मल र विषादीको प्रयोगबाट टाढा रही कृषिमा वातावरणमैत्री, दिगो र स्वदेशी प्रविधिमा आधारित कृषि प्रणाली विकास गर्नु यस कार्यक्रमको दीर्घकालीन उद्देश्य रहेको छ ।
“अहिलेको समयमा परम्परागत खेती पद्धतिले मात्र हुँदैन, विज्ञान र प्रविधिको प्रयोगसँगै जैविक र प्राकृतिक खेतीलाई प्राथमिकता दिनुपर्छ । यसर्थ स्थानीय किसानहरूको जीवनस्तर उकास्न यस प्रकारको कार्यक्रम महत्त्वपूर्ण रहेको छ– दुप्चेश्वर ४ का वडाध्यक्ष ज्ञानबहादुर तामाङले भने । उनका अनुसार किसानहरूले प्राप्त गरेका कृषि सामग्रीको उचित प्रयोग गरेर आफ्नो कृषि उपज उत्पादनमा गुणात्मक परिवर्तन ल्याउने छन् ।
“कृषि हाम्रो जीवनशैली मात्र होइन, समृद्धिको बाटो रहेको यसबाट सोच बदल्नुपर्छ—रासायनिक मलको भरमा होइन, प्रकृतिसँग मिलेर खेती गर्ने सोचका साथ हामीले यो पकेट क्षेत्र विकास गर्ने योजना अघि सारेका छौँ”–रुडेक नेपालका अध्यक्ष केसीले भन्नु भयो । किसानलाई वितरण गरिएका सामग्रीहरू कुनै अनुदान मात्र होइनन्, किसानलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सघाउने उपकरण पनि भएकाले यस कार्यमा स्थानीय सरकार, समुदाय र किसानहरूकै सक्रिय सहभागितामा सबै मिलेर यो अभियानलाई सार्थक बनाउनुपर्ने बताउनुभयो ।
ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र–रुडेक नेपालको कार्यान्वयन र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत किसानहरूको सीप अभिवृद्धिका लागि नियमित तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमहरू सञ्चालन भइरहेको छ । किसानहरूको उत्पादनको बजारीकरण र मूल्य शृङ्खला विकासका लागि आवश्यक सहयोग प्रदान गरिने कार्यक्रम रहेको छ ।
गोल्फुभञ्ज्याङ, नयाँबस्ति र ढुँडेनी क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढाइएको उक्त अभियानले दीर्घकालीन रूपमा नुवाकोटमा वातावरणमैत्री र दिगो कृषि अभ्यासको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष शङ्कर बहादुर थापाको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्