सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्: प्रधानमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताउनुभयो । नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिनुभयो । भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदासिन भएपनि तिनले मनदेखि अरुको सम्मान नपाउने उहाँको भनाइ थियो । “विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै (प्रधानमन्त्रीकै) कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफूभन्दा मातहतका मानिस वा सार्वजनिकरुपमा गिर्ने गरी कुनै कामा नगर्नुस् । अरुको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।”

उहाँले संयुक्त राष्ट्रसङ्घले भने झैँ कोही पनि पछि नपरुन् (नो वान लेफ्ट बिह्याण्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवन यापनका लागि दृढ संकल्प गर्न आग्रह गर्नुभयो । “नेपाललाई विकसित मुलुकमा रुपान्तरणका लागि हामीले सुशासनको दृढ संकल्प लिएर छिटो छिटो दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्याउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ । पथभ्रष्ट हुनेलाई कानुनको नियन्त्रणमा ल्याइयोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्राकृतिकरुपमा उर्बर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । देखिएका कमजोरी छन् त्यस क्रममा सतर्कता केन्द्रले आफ्नो सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.