काभ्रेमा छोरीहरूले किरिया गर्दै परम्परा तोडे, आफन्तबाट असहयोग र बहिष्कार

काभ्रे – काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १ स्थित रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटाको निधनपछि उनका तीन छोरीले किरिया बसेका छन् । पितृसत्तात्मक परम्पराअनुसार छोराले मात्र दागबत्ती दिने र किरिया बस्ने चलनलाई चुनौती दिँदै विमला, निर्मला र राधिकाले बाबुको दाहसंस्कार गरेर काजक्रिया बसेका छन् ।
जेठी छोरी सुन्तली र माइली कमला स्वास्थ्य कारणले किरियामा सहभागी हुन सकेनन् । विमला बनेपा नगरपालिका उप–प्रमुख तथा अखिल नेपाल महिला सङ्घ, काभ्रे जिल्ला अध्यक्ष हुन् । निर्मला बुद्धिजीवी परिषद् काभ्रेको कोषाध्यक्ष र पेसाले शिक्षक हुन् भने राधिका एमाले धादिङ जिल्ला सचिव तथा धादिङ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुन् ।
सानै उमेर आमा गुमाएका पाँच जना दिदीबहिनीहरूले नै बुबाको स्याहार–सुसार गर्दै आएका थिए । छोरा नभए पनि छोरीहरूले सबै दायित्व पूरा गर्दै आएका थिए । आफ्नो अन्तिम संस्कार र काजक्रिया पनि छोरीहरूलाई गर्नु भनेर बुबाले भनेकाले आफूहरूले उक्त कार्य गरेको पाँच दिदीबहिनीहरूको भनाई छ ।
समाज र आफन्तको असहयोगका बिच उनीहरूले किरिया बस्दा परिवारका पुरोहितले समेत असमर्थता जनाएको बुबाको काजक्रियामा रहेका दिदीबहिनीहरूले बताउनुभयो । हाल अर्का पुरोहितमार्फत काज–करिया भइरहेको बनेपा नगरपालिकाकी उप–प्रमुख विमला सापकोटाले बताउनुभयो ।
समाजमा धेरे परिवर्तन भएको भए पनि यो विधि र कार्य गर्नको लागि आफ्नै आफन्त र समाजसँग विद्रोह र लडाई गर्नुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, हामीले गरेको कार्यप्रति हाम्रा दाजुभाइ, स्थानीय तथा समाज सन्तुष्ट हुनुभएको छैन । उहाँहरूको प्रस्तावभन्दा विपरीत कार्य गरेको भन्दै उहाँहरूले हाम्रा आफन्तहरूलाई बहिष्कार गर्ने भन्दै चेतावनी दिएको बुबाको काजक्रियामा रहनुभएकी छोरी राधिका सापकोटाले बताउनुभयो ।
उक्त कार्य गर्नको लागि उहाँहरूलाई श्रीमानको पनि साथ रहेको छ । साथ दिनेहरूलाई पनि समाजले प्रश्न गरिरहेको विमला सापकोटा श्रीमान् हरिशरण दाहालले बताउनुभयो । उहाँका अनुसार, समाजले विरोध तथा अवरोध गरे पनि उहाँहरूलाई परिवारको भरपुर साथ रहेको छ ।
उहाँहरूले गर्नुभएको उक्त कार्यप्रति त्यहाँका स्थानीय, दाजुभाइ अझै सन्तुष्ट रहेका छैनन् । उक्त कार्य नगरेको भए हुन्थ्यो भन्ने स्थानीय तथा दाजुभाइहरूको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्