ककनीमा परिचय पत्र शिविर
–चार सय बढीको विवरण सङ्कलन

नुवाकोट- वृद्ध वृद्धा तथा अशक्तहरूको सुविधाका लागि नुवाकोटको ककनीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शिविर सञ्चालन गरिएको छ । यस वाट सदरमुकाम विदुरसम्म जान नसकेका पूर्वी भेगका अशक्त, वृद्ध वृद्धा तथा बिरामीहरूलाई निकै सुविधा पुगेको छ ।
ककनी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वय र राष्ट्रिय परिचयपत्र तथा केन्द्रीय पन्जिकरण विभागको प्राविधिक सहयोगमा ककनीको चतुराले, पुतलीचौतारा, हिले, भोटथानसिङ, ढोकाभन्याङमा रहेको वडा कार्यालयमा प्राविधिक र कर्मचारीमार्फत राष्ट्रिय परिचयपत्र शिविर सम्पन्न भएको हो । यस वाट गाउँमै राष्ट्रिय परिचयपत्र शिविर गरिदा सामाजिक सुरक्षा बापतको भत्ता तथा अन्य कार्यका लागि सहज भएको छ ।
विशेष गरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई प्राथमिकता दिएर ककनी गाँउपालिकाको वडा २, ३, ५, ७ र ८ मा राष्ट्रिय परिचयपत्र शिविर सम्पन्न गरिएको हो । यस वाट सदरमुकाम पुग्न नसक्नेहरूका लागि शिविरमै विवरण सङ्कलन गरिएको छ ।
ककनी गाँउपालिका २ को हिले ३ को ढोकाभन्याङ, ५ को भोट थानसिङ, ७ को चतुराले र ककनी ८ को पुतलीचौतारोमा शिविर सञ्चालन गरिएको हो । ती स्थानहरूमा गरिएको शिविरमा हालसम्म चार सय भन्दा बढीको राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन गरिएको ककनी गाँउपालिका अध्यक्ष सुमन तामाङ सज्जनले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्