साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म अति भारी वर्षाको सम्भावना
काठमाडौँ- देशका अधिकांस भागमा हिजोदेखि निरन्तर पानी परेको छ । विशेषगरी बागमती प्रदेशका चितवन, मकवानपुर, सिन्धुली तथा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा भारी वर्षा भएको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ ।
यसैगरी बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ । बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
मौसम विभागले कोशी प्रदेशका सवै १४ वटै जिल्ला, मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र बागमति प्रदेशको सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढी पहिरोको उच्च जोखिम जनाएको छ । यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रसुवा, नुवाकोट र धादिङ जिल्लाहरुलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ । गण्डकी प्रदेशको कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ,गोरखा, नवलपरासी पूर्व र लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु पनि उच्च जोखिममा रहेका छन् ।
लुम्बिनीका गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियालाई मध्यम जोखिमको सूचीमा राखिएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार नेपाल प्रवेश गरेको मौसमी प्रणालीसैगै देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पानी परिरहेको उल्लेख गर्दै केही ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले असोज २० गते सोमबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ ।






प्रतिक्रिया राख्नुहोस्