थानकोट डिपोका नाममा आएको ट्याङ्करबाट पेट्रोल चोरी, चालकसहित चार जना पक्राउ

मकवानपुर- नेपाल आयल निगम थानकोट डिपोका नाममा आएको पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी पुष्कर बोगटीले आइतबार साँझ करिब साढे चार बजे नेपाल आयल निगम, अमलेखगन्ज डिपोबाट थानकोट डिपोतर्फ गइरहेको ना.४.ख ९३७७ नम्बरको ट्याङ्कर मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रा.ली. मा रोकिएर अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको बताउनु भएको हो।
घटनास्थलमा प्रहरी पुगेपछि ट्याङ्करबाट पेट्रोल झिक्ने कार्य भइरहेको देखिएपछि चालकसहित पेट्रोल पम्पमा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएको प्रवक्ता बोगटीले बताउनुभयो।
डिएसपी बोगटीका अनुसार, उक्त ट्याङ्कर नेपाल आयल निगमको थानकोट डिपोका लागि पेट्रोल लिएर हिँडेको थियो। तर बिचमै रोकी अनधिकृत रूपमा पेट्रोल बिक्री गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो।
उहाँले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। घटनाको विषयमा अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक गर्न नमिल्ने पनि बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र पेट्रोलियम पदार्थको अनधिकृत कारोबारमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्