धार्मिक तथा ऐतिहासिक नमोबद्ध मेला

 काभ्रे– कार्तिक पूर्णिमाका दिन काभ्रे जिल्लाको नमोबद्ध नगरपालिका ११ स्थित नमो बुद्धमा ऐतिहासिक एवं धार्मिक स्थल समेत रहेको नमो बुद्धमा कार्त्तिक पूर्णिमा लागेको छ । आफ्ना पुर्खाहरूको स्मरण र गौतमवुद्धको शान्ति सन्देशलाई मनन गरी दर्शनार्थीहरुले हरेक वर्ष कार्तिक पूर्णिमाको दिन नमो बुद्धमा भगवान् बुद्धलाई पुज्ने गर्दछन् ।
  दर्शनार्थीहरुको बिहानैदेखि घुइँचो लागेको छ । मेलामा दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौँ दीप प्रज्वलन गर्दै आई रहेका छन् ।
 मेला भर्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई विदेशबाट बौद्धधर्माबलम्बीहरु समेत आउने गरेको नमोबद्ध भगवान् ध्यान गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए । उनका अनुसार, मन्दिरमा एक पटक पाइला टेके मात्र जुगौ जुगको पाप अन्त्य भएर जाने र आफूले चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास रही आएको छ । यस वर्ष मन्दिरमा ६० हजार दर्शानार्थीले दर्शन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, नमो बुद्धमा विशेष गरी नेवार समुदायका बौद्ध धर्माबलम्बीहरुले बिहीबार रातभर आफ्ना पुर्खाहरूको सम्झनामा दीप प्रज्वलन गरी जाग्राम बसेका थिए भने आज दिनभर र रातभर तामाङ समुदायका धर्माबलम्बीहरुले बुद्धको पूजाआजा गरी जाग्राम बस्ने गर्छन् ।
 जिल्लाको तत्कालीन शारदा बतासे गाविसस्थित ई टेका महाराजा महादीपका ३ छोरा महासत्त्व, प्रभासत्व र बोधिसत्त्व सिकार खेल्ने क्रममा नमोवुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रस्रव वेदनाले छटपटाएकी बघिनी र ५ डमरुको मरणासन्न अवस्थादेखि पछि राजकुमार महासत्त्वको मनमा दयाको भाव पलाई दाजुहरूसँग बघिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउनको लागि आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन रही आएको नमोबद्ध भगवान् ध्यान गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो ।
 उहाँका अनुसार, किम्बदन्ती अनुसार आफ्नो छोराको अस्तु मात्र राजा महादीपले नमोवुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा राजाले गुम्वा निर्माण गरी दिएका थिए । आफ्नो शरीर बघिनीको लागि दान गरेको २५ सय वर्ष पछाडि लुम्बिनीमा तीनै राजकुमार महासत्त्वले मायादेवीको कोखबाट भगवान् गौतम बुद्धको रूपमा जन्म लिएको र आफू जन्मेपछि बुद्धले नमो बुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पूजा–आजाका साथै साङ्गे लगाएको धार्मिक विश्वास रहँदै आएको छ । नमो बुद्धमा कात्तिक पूर्णिमा बाहेक चैत्र पूर्णिमा र साउन महिनाको प्रत्येक बुधवार समेत ठुलो मेला लाग्ने गरेको छ ।
 पर्यटन क्षेत्रको लागि उर्वरा क्षेत्रको रूपमा समेत रहेको नमो बुद्धमा कुतुङटासी छोलिङ गुम्बाको साथै हजारौँ माने र कलात्मक बुद्धका मूर्ति रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.