जेन्जी आन्दोलनका सहिद कुथुमीको परिवारको चाहाना सहिदको सपना पूरा होस्

धनकुटा- जेन जी आन्दोलनको पहिलो दिन गत भदौ २३ गते काठमाण्डौँमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु भयो। जसमध्ये एक थिए धनकुटाको पाख्री वास नगरपालिका वडा नं. १० चुम्बाङस्थित दाङसिङका ६४ वर्षीय ‘सात पारुहाङ’ भनिने छत्रमान कुथुमी। २३ गते मृत्यु भएका कुथुमीको भदौ ३१ गते चुङमाङ ल्याएर अन्त्यष्ठी गरियो। बुबा बेलबहादुर र आमा कृष्ण कुमारीको कोखबाट वि.स. २०१८ साल मङ्सिरमा जन्मिएका कुथुमीका ९० वर्षीय आमासहितको परिवार गाउँमै बसोबास गरिरहेको छ। ९० वर्षको उमेरमा छोरो गुमाउनु परेपछि कुथुमीकी आमा कृष्णकुमारी कुथुमीका आँखा अझै रसाउन छाडेका छैनन्। कुथुमीलाई सरकारले सहिद घोषणा गरिसकेको छ। तर, छोराको उद्देश्य पुरा हुन्छ कि हुन्न भन्ने चिन्ताले सताउने गरेको कृष्ण कुमारीको भनाइ छ। उहाँले आन्दोलनमा छोराको ज्यान गए पनि उसको उद्देश्य पुरा भएको र उसका साथीलाई केही नभएको हेर्न चाहेको बताउनु भयो।
कुथुमी करिब २५ वर्षदेखि काठमाण्डौँको चन्द्रागिरि नगरपालिका वडा नं. १२, बलम्बुमा कान्छी श्रीमती दीपा श्रेष्ठसँग डेरा गरी बस्दै आउनु भएको थियो। काठमाडौँमा ज्यालादारी र धामी–झाँक्री पेसा गरेर जीविकोपार्जन माध्यम थियो। अन्य श्रीमती छोराछोरी आमा भाइ लगायत आफन्त गाउँमै भएकाले गाउँमै भएकाले गाउँमा पनि ओहोरदोहोर भइरहन्थ्यो। कुथुमीको मृत्युपछि कान्छी श्रीमती दीपा ११ बर्सिया छोरीसँगै गाउँमै आउनु भएको छ। कुथुमीका तीन श्रीमतीमध्ये दुई श्रीमती, तीन छोरा र तीन छोरी छन्। जेठी श्रीमती राजकुमारी सहित परिवारका अन्य सदस्य गाउँमा कृषि पेसामा छन् भने जेठो छोरो विदेशमा छन्। देशका लागि ज्यान दिएका कुथुमीका परिवारलाई राज्यले राहत मात्रै होइन सहिदका सपना पनि पुरा गर्नुपर्ने कुथुमीका माइला भाइ खण्डमान कुथुमीले बताउनु भयो। दाजुले देशकै लागि मृत्यु भएकाले छोरी सहित अन्य परिवारको बिचल्ली हुने अवस्था आउन नहुने खण्डमानको भनाइ छ।
दाजुले जुन चाहनाले आन्दोलनमा जानुभयो त्यो चाहना पुरा गर्न सरकार र सबै पक्षले ध्यान दिनुपर्ने कुथुमीका साइला भाइ ईश्वर कुथुमीले बताउनु भयो। उहाँले सोचेको र चाहेको पुरा हुन विशेष गरी जेन जी पुस्ताले ध्यान दिनुपर्ने परिवारजनको भनाइ छ।
छत्रमान कुथुमीलाई सरकारले सहिद घोषणा गरेपछि पख्रिबास नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग तथा मलामी खर्च १० हजार रुपैयाँ गरी ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। यस्तै उहाँको ११ बर्सिया छोरीको शिक्षामा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने तयारी पनि गरेको पख्रिबास नगरपालिका वडा नं. १० का वडाध्यक्ष हरि खत्रीले बताउनु भयो। छ। यसले सहिद परिवारलाई केही राहत मिल्ने अपेक्षा र बालिका छोरीको भविष्य उज्ज्वल बन्न सहयोग पुग्ने खत्रीको भनाइ छ।
कुथुमीका परिवारले परिवारको सदस्य तथा अभिभावक गुमाउनु परेको पीडा झेलिरहेको बेला अभिभावक नहुँदा परिवारलाई कसरी व्यवस्थित गर्ने भन्ने चिन्ता थपिएको छ। यति पीडा र समस्याका बिच कुथुमीका परिवारले सहिदको सपना पुरा भए सबैलाई सन्तोष हुने बताइरहेका छन्।






प्रतिक्रिया राख्नुहोस्