गण्डकी प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै

कास्की- गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने ‘मौलिक (कोसेली) घर’ को शिलान्यास गरिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा नयाँबजारथित गण्डकी प्रदेश संग्रहालय परिसरमा निर्माण हुन लागेको कोसेलीघरको शिलान्यास गर्नुभयो । उहाँले यसबाट प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको दाबी समेत गर्नुभयो।
प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको सुनाउनुभयो।
पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा सङ्ग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुग्ने उहाँको भनाई छ ।
प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट कर्मागत योजना अन्तर्गत रु.२ करोड ८३ लाख (भ्याट र कन्टिन्जेन्सीसहित) लगानीमा उक्त घर निर्माण हुन लागेको हो। जसको सम्झौता रकम रु. १ करोड ८५ लाख ८८ हजार (भ्याटसहित) रहेको छ ।
कोसेली घर निर्माणका लागि आगामी असार मसान्तसम्म सक्ने गरी टुडे बिल्डर्ससँग सम्झौता भएको छ । विविधतामा आधारित सङ्ग्रहालय प्रदेशको पहिचान बन्ने विश्वास गरिन्छ ।






प्रतिक्रिया राख्नुहोस्