विभिन्न क्षेत्रका ६ जना उद्यमी सम्मानित

नुवाकोट-  उद्यम विकासमा जोड दिँदै नुवाकोटको विदुरमा नमुना उद्यमीहरू छनौट गरी सम्मानित गरिएको छ । ११ औँ  उद्योग दिवसको अवसरमा नुवाकोटका पुराना तथा सफल उद्यमीहरूलाई कार्यक्रमकावीच सम्मानित गरिएको हो ।

औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ सञ्चालित दिवसको अवसरमा पाँच स्थानीय तहका ६ जना विभिन्न क्षेत्रका उद्यमीहरू सम्मानित भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले उद्योग दिवसका अवसरमा कृषि, हस्तकला, ट्राउट माछा, पोल्ट्री र सिलाई कटाइतर्फका दुई महिलासहित ६ जना उद्यमीहरूलाई प्रोत्साहन स्वरुप सम्मानित गरेको हो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत साना तथा मझौला उद्योगहरूलाई थप प्रोत्साहनसहित ती उद्योगीहरूलाई सम्मान गरिएको कार्यालय प्रमुख सीताराम घिमिरेले जानकारी दिए । उनका अनुसार  हस्तकला, माछा पालन, सिलाई प्रशिक्षण, कृषि, पोल्ट्री लगायतका उद्योगहरू फस्टाउने क्रममा रहका छन् ।

विदुर नगरपालिका भित्रका तीन जना उद्यमीहरू सम्मानित भएका छन् । दुप्चेश्वर, लिखु गापा र बेलकोटगढी नपाक एक÷एक जना उद्यमीहरू सम्मानित भएका हुन् ।

यसरी सम्मानित हुनेमा विदुर नपा–९ स्थित आशापुञ्ज कृषि केन्द्रका सञ्चालक हरिबहादुर बस्नेत, विदुर नपा–४ वट्टारस्थित जालपादेवी हस्तकला उद्योगकी सञ्चालक गीता ढकाल थापा र शुभ लक्ष्मी प्रशिक्षण केन्द्र वट्टारकी लक्ष्मीकुमारी प्रधान रहेका छन् । यसै गरी दुप्चेश्वर गापा–१ स्थित सुर्यकुण्ड ट्राउट माछा फर्मका सञ्चालक नन्दलाल तामाङ, लिखु गापा–१ ढिकुरेस्थित हराभरा कृषि फर्मका सञ्चालक  ईबकुमार ढकाल र बेलकोटगढी नपा–५ स्थित लामिछाने पोल्ट्री फर्मका सञ्चालक पुरुषोत्तम लामिछाने सम्मानित भएका छन् ।

उहाँहरूलाई कार्यक्रमकावीच प्रमुख जिल्ला अधिकारी शशि धर घिमिरे, कार्यालय प्रमुख सीताराम घिमिरे, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, घरेलु तथा साना उद्योग महासङ्घ नुवाकोटका अध्यक्ष रामकृष्ण राज भण्डारीलगायतले दोसल्ला अ‍ेढाउनुका साथै सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.