विपी राजमार्ग विस्तारको काम धमाधम हुँदै

काभ्रे- वर्षाका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको सडक अहिले तीब्र गतिमा विस्तार भइरहेको छ।
सडक डिभिजन भक्तपुरले भकुण्डेदेखि सिन्धुलीको सिमाना बर्खेखोलासम्मको सडकलाई तीन भागमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइरहेको छ।
पहिलो खण्ड भकुण्डेदेखि चारसयबेसीसम्म लामा-नव कान्तिपुर जेभीले काम गरिरहेको छ। दाप्चा पुल, चौकीडाँडा, कटुञ्जेवेशी, ल्हासकोटलगायत स्थानमा भित्ता काट्ने र कल्भर्ट निर्माणको काम तीब्र छ। यस खण्डको ११.८३ किमी विस्तार कार्यका लागि कम्पनीले १ अर्ब ३३ करोड ५२ लाख रुपैयाँमा सम्झौता गरेको हो।
खानेपानी पाइप र विद्युत खम्बा व्यवस्थापनमा चुनौती रहेको निर्माण कम्पनीले जनाएको छ।
दोस्रो खण्ड चारसयबेसीदेखि डालावेशीसम्म ८.५ किमी सडक विस्तार कार्य खानी–ए वान–कमलजित जेभीले गरिरहेको छ।
सो कम्पनीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरी २०८४ जेठ २८ भित्र काम सकाउने लक्ष्य राखेको छ। तेस्रो खण्ड डालावेशीदेखि सुख्खा पहिरोसम्म २.२८ किमी विस्तार कार्य उमा–भण्डारी–अमरज्योति जेभीले गर्दैछ। यसका लागि ६८ करोड ८० लाख रुपैयाँमा सम्झौता गरी २०८४ कात्तिक २६ भित्र सम्पन्न गर्ने योजना छ। त्यसपछि सुख्खा पहिरोदेखि सिन्धुली सिमाना बर्खेखोलासम्मको काम जाइकाले गर्नेछ।
हाल निर्माण कार्य तीब्र रूपमा चलिरहेका कारण सवारीसाधनहरू रोशीखोलाको बगरमा बनेको अस्थायी बाटो प्रयोग गर्न बाध्य छन्। यसले यात्रुहरूलाई असहजता भए पनि केही समयपछि पक्की सडक निर्माणले समस्या समाधान हुने सडक डिभिजन भक्तपुरले जनाएको छ।
नालीसहित १० मिटर चौडाइको डबल लेन सडक बन्ने यो परियोजना सम्झौता अनुसार दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।।






प्रतिक्रिया राख्नुहोस्