बुटवलमा १६ औँ औद्योगिक प्रदर्शनी सुरु

रुपन्देही – रुपन्देही उद्योग सङ्घको आयोजनामा बुटवलमा औद्योगिक प्रदर्शनी सुरु भएको छ  बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको सहयोगमा आयोजित १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव पुस १७ गतेसम्म चल्नेछ । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, फुड प्रोसेसिङ, सूचना प्रविधि, छाला तथा जुत्ता, घरेलु सामग्रीलगायत क्षेत्रका करिब ३५० भन्दा बढी स्टलहरू रहेका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री रामेश्वर खनालले २१ फागुनमा तोकिएको मितिमा निर्वाचनको विकल्प खोज्न नहुने बताउनु भएको छ ।

निर्वाचनको विकल्प खोजिए अर्को राजनीतिक अस्थिरता निम्तिने र मुलुक फेरि अनिश्चयको बाटोमा धकेलिने अर्थमन्त्री खनालको भनाइ छ । निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले सुशासन दिने र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । नयाँ निर्वाचित सरकारले मात्रै संविधान संशोधन र राजनीतिक सुधारको काम अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै पर्यटनमार्फत देशको समृद्धि खोज्न सुझाव दिनुभयो । उहाँले एनपीएल विजेता लुम्बिनी लायन्स लाई प्रदेशलाई प्रदेश सरकारले ११ लाख प्रदान गर्ने पनि घोषणा गर्नुभयो ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान र विधिअनुसार मुलुक अघि बढाउन संसद् पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सङ्घबाट प्रदेशमा हस्तान्तरण भएका योजना बजेट अभावका कारण अलपत्र परेको गुनासो गर्दै जसको उदाहरण बेलबास–बेथरी सडक रहेको बताउनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक–निजी साझेदारीलाई बलियो बनाए मात्र मुलुकले आर्थिक तथा औद्योगिक विकासमा फड्को मार्ने बताउनुभयो ।

यस्तै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण पराजुली, उपाध्यक्ष जीवकान्त पोखरेल, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे तथा पूर्व अध्यक्ष यानेन्द्र जिसीले औद्योगिक प्रदर्शनीले स्वदेशी उत्पादन प्रवर्द्धन र उद्यमशीलता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.