राजनीतिमा धैर्य र समर्पण आवश्यक : महासचिव पोखरेल

राँझा (बाँके)- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताउनुभएको छ ।

नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गर्नुभयो ।

“राजनीतिमा धैर्य र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ”, उहाँले भन्नुभयो, “युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।” विषयगत ज्ञानसहितको नयाँपुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (एमाले) युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गर्नुभयो । तीन पुस्ता संयोजनको मान्यतालाई एमालेले व्यवहारमा लागू गरेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्र निर्माण गर्ने कुरामा निरास हुनुपर्दैन, युवाको भविष्यलाई एमालेले सुरक्षित गरेको छ ।”

उहाँले राष्ट्रिय वाणिज्य बैंकमा आबद्ध कर्मचारी नेताहरूलाई अहिले सेवा गरी भविष्यमा उद्यमशीलतामा जोडिएर राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । महाधिवेशनमा देशभरका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.