नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै
खेल दिउँसो ३:१५ बजे सुरु हुने
काठमाडौँ- आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दैछ ।
तेस्रो पटक आइसिसी टी-२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आज इङ्ल्यान्डसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्ने छ ।
नेपाल र इङ्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सवा ३ बजे सुरु हुनेछ ।
इङ्ल्यान्डसँगको खेल खेल्नका लागि टोली तयार रहेको नेपालका कप्तान रोहित पौडेलले बताउनुभएको छ ।
विश्वकपमा नेपाल समूह समूह ‘सी’ मा रहेको छ ।
यस समूहमा बलियो टोली दुई पटकको विजेता इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड रहेको छ ।
भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ ।
नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्