पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर- जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ ।

यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा विकल्प पाण्डेलगायत टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा अभिलेख गरेका हुन् । ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ । यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको भए पनि शुक्लाफाँटाका लागि भने यो नितान्त नयाँ र दुलर्भ प्रजातिका रूपमा रहेको चराविज्ञ डगौराले बताउनुभयो ।

उहाँका अनुसार यो चरा मुख्यतः मध्यपहाडी र हिमाली क्षेत्रका आद्र्र वनमा बस्ने गर्छ । सामान्यतया १८०० देखि २७०० मिटर उचाइमा पाइने यो प्रजाति जाडोयाममा केही तल झर्न सक्छ । तर तराईको समथर भूभागमा देखिनुलाई असामान्य मान्न सकिने चराविज्ञ डगौराले बताउनुभयो ।

“विश्वस्तरमा सामान्य भए पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना हो”, उहाँले भन्नुभयो, “यसले वातावरणीय अवस्था वा बसाइँसराइको ढाँचामा आएको परिवर्तनलाई देखाउँछ ।” मदना चाँचर करिब २८–२९ सेन्टिमिटर लामो हुन्छ । भाले चरा कालो रङको र पखेटामा खैरो दाग भएको देखिन्छ भने पोथी चरा खैरो रङको हुन्छ । भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुन्छ ।

“नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजातिको चरा तराईमा देखिनुले जलवायु परिवर्तनको असर वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको सङ्केत हो”, चराविज्ञ डगौराले भन्नुभयो, “पहाडी क्षेत्रमा सीमित मानिने चरा तराईमा भेटिनुले शुक्लाफाँटाको जैविक विविधताको दायरा अझ फराकिलो बन्दै गएको छ ।” शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराहरूको सङ्ख्यामा थप वृद्धि भएको छ ।

पहाडी क्षेत्रको यो चरा शुक्लाफाँटामा अभिलेख भएसँगै यस निकुञ्जलाई चरा अवलोकन र वैज्ञानिक अनुसन्धानको दृष्टिले अझ महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.