सडक पहुँचसँगै लसुनखेतीमा किसान आकर्षित

भोजपुर- टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो ।
ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहनुभएको छ । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ छ ।
“पहिले उत्पादन बिक्री गर्न बजारसम्म लैजान कठिन हुन्थ्यो, अहिले सडक पुगेपछि व्यापारी घरमै आउँछन्, मूल्य पनि राम्रो पाइन्छ”, लुइँटेलले भन्नुभयो । उहाँका अनुसार गत वर्ष लसुन प्रति किलो रु २०० सम्ममा घरबाटै बिक्री भएको थियो । उत्पादन लागत तुलनात्मक रूपमा कम र बजार मूल्य आकर्षक भएकाले राम्रो आम्दानी लिन सकिएको थियो ।
“गाउँमा धेरै किसान व्यावसायिक रूपमा लसुनखेतीमा जुटेका छन्”, उहाँले भन्नुभयो, “मैले पनि विस्तारै क्षेत्रफल बढाउँदै लगेकी छु ।”
स्थानीय किसानका अनुसार मझौलेको माटो र हावापानी लसुनखेतीका लागि उपयुक्त छ । राम्रो उत्पादन हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि लसुनखेती सुरक्षित बालीका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय छिमेकी बजार तथा जिल्ला बाहिरबाट पनि माग आउन थालेको किसानको भनाइ छ ।
मनग्य आम्दानी लिन सकिने भएकाले साना किसानका लागि पनि लसुनखेती लाभदायक बन्दै गएको छ । परम्परागत अन्नबालीको तुलनामा नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा गाउँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव परेको देखिन्छ । स्थानीय तहले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ व्यवस्थापन तथा प्राविधिक सहयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सडक पूर्वाधार विस्तार र बजार पहुँच सुनिश्चितताले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको जनाइएको छ ।
यसरी पूर्वाधार विकाससँगै कृषिमा व्यावसायिक सोच विस्तार हुँदै जाँदा मझौलेका किसान आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । लसुनखेतीबाट प्राप्त आम्दानीले घरपरिवारको दैनिकी सुधार्नुका साथै ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्न पनि सहयोग पुग्ने उनीहरुको विश्वास छ ।





प्रतिक्रिया राख्नुहोस्