झापा-१ बाट रास्वपाकी निशा डाँगी विजयी

काठमाडौँ- झापा-१ बाट रास्वपाकी निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँ ४५ हजार ६८० मत प्राप्त गरी प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ ।

डाँगीको प्रतिनिधिसभामा यो दोस्रो यात्रा हो ।

मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्षअघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोरियो ।

जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिनुभयो ।

निराशालाई आशामा बदल्ने अठोटका साथ राजनीतिमा होमिनुभएकी २९ वर्षीया निशा डाँगी झापा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बन्नुभएको थियो ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ २५ वर्षको उमेरमा समानुपातिकतर्फ निर्वाचित हुँदा मुलुककै कान्छी सांसद हुनुभएको थियो । समानुपातिक सांसदका रूपमा संसद्मा प्रवेश गर्नुभएकी उहाँले युवाहरूको समस्या समाधानका लागि सदनमा निरन्तर आवाज बुलन्द गरिरहनुभयो ।

क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल सांसद डाँगीलाई यसपटकको आमनिर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताका रूपमा स्थापित गरिदिएको छ । युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाउनुभएकी उहाँ भद्रपुर नगरपालिका–२ की बासिन्दा हुनुहुन्छ । सांसद डाँगी रास्वपाको हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।

सांसद डाँगीले यसअघिको प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ । भीमबहादुर र देवीमाया डाँगीको सुपुत्रीका रूपमा उहाँको जन्म २०५३ मङ्सिर १६ गते झापाको भद्रपुरमा भएको हो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

पत्रकारिताबाट राजनीतिमा होमिँदा डाँगीलाई समाज, राजनीति र नागरिकका समस्या बुझ्न सहज भएको थियो ।

देश र जनताको हितमा सही नीति निर्माण र निर्णय गर्ने स्थानमा पुग्नुभएकी सांसद डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वतासमेत उत्तिकै रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.