शिक्षकदेखि संसद्सम्म जोशीको यात्रा

घोडाघोडी (कैलाली)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बझाङको दुर्गम गाउँबाट सुरु भएको उहाँ जीवनयात्रा अहिले संसद्सम्म पुगेको छ ।
विसं २०४३ असार २८ गते सुदूरपश्चिम प्रदेश बझाङको जयपृथिबी नगरपालिका–२ बाँझगाउँमा जन्मिएका जोशी शिक्षक परिवारका सदस्य हुनुहुन्छ । जोशीले प्रारम्भिक शिक्षा बाँझगाउँस्थित बालविकास प्राथमिक विद्यालयबाट प्राप्त गर्नुभएको थियो । पछि २०५३ पुस ५ गते परिवारसहित कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बसाइँ सरेपछि उहाँले कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १० सम्मको अध्ययन पूरा गर्नुभएको थियो ।
त्यसपछि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट आइएससी तथा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट उच्च शिक्षा अध्ययन गर्नुभएका जोशीले घोडाघोडी बहुमुखी क्याम्पसबाट बीए र एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ । जोशीले २०५६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले विभिन्न विद्यार्थी सङ्गठनका पदमा सक्रिय रहँदै सिद्धनाथ विज्ञान क्याम्पसको इकाइ समिति अध्यक्ष, केन्द्रीय पार्षदलगायतका जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रिय जनमोर्चामा आबद्ध भई कैलाली जिल्लामा सदस्य, सहसचिव, सचिव र अध्यक्षसम्मको जिम्मेवारी निभाउनुभएको थियो । उहाँ पार्टीको केन्द्रीय पार्षद तथा प्रदेश सदस्य पनि रहनुभएको थियो ।
विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा जोशी घाइते हुनुभएको थियो । उहाँ त्यसबोला संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समितिका सदस्य हुनुहुन्थ्यो । पेसाले शिक्षक जोशीलाई २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवार बनाएको थियो, तर उहाँ पराजित हुनुभयो । विसं २०७४ को निर्वाचनमा उहाँ सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बन्नुभएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि राष्ट्रिय जनमोर्चाबाट घोडाघोडी नगरपालिका–१० को वडाध्यक्ष पदमा उम्मेदवारी दिए पनि उहाँ सफल हुन सक्नुभएन ।
गत साउन ३ गतेसम्म राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष रहनुभएका जोशीले आफ्नै अध्यक्षतामा बसेको बैठकबाट राजीनामा दिँदै पार्टी परित्याग गर्नुभएको थियो । साउन ४ गते घोडाघोडी नगरपालिका–१० को वडा अधिवेशनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका जोशीलाई रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।
जोशीका अनुसार रास्वपाले उम्मेदवार चयन गर्दा लोकतन्त्रमा दिएको योगदान, व्यक्तिगत पृष्ठभूमि, भ्रष्टाचारमा मुछिएको वा नमुछिएको अवस्था, शिक्षा र अनुभवलाई मुख्य आधार बनाउने गरेको छ । सोही मापदण्डका आधारमा आफूलाई टिकट दिइएको पनि उहाँ बताउनुहुन्छ । चुनावी परिणामबारे सुरुआतमा यति ठूलो समर्थन आउने अपेक्षा नगरेको बताउँदै जोशी भन्नुहुन्छ, आर्थिक रूपमा आफू कमजोर रहेकाले चुनावी अभियान चलाउन कठिनाइ भएको थियो ।
“आर्थिक रूपमा कमजोर भए पनि म जनताको घरदैलोमा पुगेँ । घरदैलो अभियान चलाएँ”, जोशीले भन्नुभयो, “जनताले मेरो मूल्याङ्कन गरेर यो परिणाम दिनुभएको हो ।”
नेपाली राजनीतिमा नैतिकता र इमानदारिताको अभाव रहेको उल्लेख गर्दै आफू इमानदारिता र नैतिकताका आधारमा काम गर्ने जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । “म नैतिकताको तरबार लिएर अगाडि बढ्छु । अनैतिक र अराजनीतिक काम गर्दिनँ”, उहाँ भन्नुहुन्छ, “नेपाल र नेपाली जनताको हितमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गर्नेछु ।”
आगामी दिनमा कति काम गर्न सकिन्छ भन्ने कुरा भविष्यले नै बताउने जोशीले बताउनुभयो । जोशी जम्मा मत ५९ हजार ७५९ मा २० हजार ३५९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गर्नुभयो । एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गर्दा राप्रपाका वीरेन्द्र बमले दुई हजार ३४७ मत प्राप्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्