नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह

भक्तपुर- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नयाँ अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिनुभयो । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्नुभयो । प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

सोही अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन शिक्षार्थी अधिकृत क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गर्नुभयो । नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म अधिकृत क्याडेट तथा पदिक र बिल्लादार अधिकृत क्याडेट गरी ६ हजार ७३४ जना तथा एक हजार ६०८ प्राविधिक अधिकृतहरूले सफलतापूर्वक तालिम पूरा गरिसकेका छन् ।

सन् २०१२ देखि विदेशी शिक्षार्थीहरूसमेत सहभागी गराइ तालिम सञ्चालन हुँदै आएकामा हालसम्म विभिन्न राष्ट्रका ३२ विदेशी शिक्षार्थीहरूले तालिम सम्पन्न गरिसकेका छन् । समारोहमा नवआयुक्त अधिकृतहरूलाई अभिभावक तथा आफन्तजनहरूले सुशोभन गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.