सात बर्षमा बल्ल बन्नेभयो फोस्रेटार-केउरेनी जोड्ने पुल
धादिङ- निर्माण सुरु भएको सात वर्षपछि धादिङको फोस्रेटारलाई नुवाकोटको केउरेनीसम्म जोड्ने त्रिशुली नदी माथिको पक्कि मोटरेवल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
आगामी महिनादेखि सो पुल हुँदै सवारीका साधनहरु समेत संञ्चालनमा ल्याउने निर्माण कम्पनीले बताएपछि स्थानीयहरु खुसी भएका छन्।
धादिङको फोस्रेटारलाई नुवाकोटको केउरेनीसम्म जोड्ने त्रिशुली नदी माथिको पक्कि मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
निर्माण कार्य सुरु भएको सात वर्षपछि बल्ल सो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विभिन्न कारण देखाई ठेकेदार कम्पनीले विचैमा काम छाडेर गएपछि पुलको काम रोकिएको थियो।
पुल समयमा सम्पन्न हुन नसक्दा धादिङबेसीबाट सुनौला वजार हुँदै फोस्रेटारदेखि काठमाण्डौ जाने सडकसमेत संञ्चालनमा आउन सकेको थिएन।
अब त्रिशुली नदी माथिको उक्त पुल निर्माण सम्पन्न भएलगत्तै धादिङबेसीबाट फोस्रेटार हुदै सिधै राजधानी काठमाण्डौंसम्म सवारीका साधनहरु संञ्चालनमा आउनेछन।
पुल निर्माण नहुँदा धादिङको सुनौलाबजार,भोर्ले,कोसीखोला, दलाङ्गलगाएत दर्जनौ गाउँका स्थानीयहरुलाई दैनिक उपभोग्य सामान ओसारपसारका लागि निकै समस्या हुँदै आएको थियो।
अब पुल निर्माणसँगै यो समस्याबाट उनीहरु मुक्त हुनेछन । पुल नहुँदा मोटर बाटोबाटसमेत धादिङ आउनका लागि दुई घण्टा नुवाकोटको रातोमाटाबाट घुम्नुपर्ने बाध्यता रहेको थियो।
यो पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गरिक्नुपर्ने जिम्मा सपना हिन्दुङ्ग एण्ड थोकर नागर्जुन कन्ट्रक्सन जेभिले सडक विभागसँग सम्झौता गरेको थियो ।
सो पुल त्रिुशली नदीमा निर्माणाधिन पुलमध्य सबैभन्दा लामो मोटरएवल पुल हो।
अहिले पुलको सबैजसो काम सम्पन्न गरी बार राख्ने र एक्सीस सडकखन्ने काम भइरहेको छ।
१ सय ९२ मिटर लम्वाइको प्रिस्ट्रेस डिजाइनको पुल १५ करोड १२ लाखको लागतमा निर्माण सम्पन्न गर्नुपर्ने जिम्मा ठेकेदार कम्पनीले पाएको थियो।
आगामी महिनादेखि सवारीका साधनहरु नै ओहोर दोहोर गर्न मिल्ने निर्माण कम्पनीले जनाएको छ।।
प्रतिक्रिया राख्नुहोस्