विभाजनको झल्को दिने काँग्रेसका फरक-फरक कार्यक्रम

काठमाडौँ- प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै देशका विभिन्न स्थानमा ४४औँ बिपी स्मृति दिवस मनाइएको छ ।
आफ्ना संस्थापन नेताको स्मृति दिवस मनाउने दिनसम्म आइपुग्दा बीपीकै अनुयायीहरुले भने एकै ठाउँमा उभिएर उनलाई सम्झन सकेनन् । बरु काँग्रेसका नेताहरुले फरक-फरक कार्यक्रम गरेर विभाजनको संकेत दिए ।
संस्थापन र इतर पक्षको नाममा नेतादेखि कार्यकर्तासम्म विभाजन नै भइसकेको जस्तो गरी दुई अलग-अलग कार्यक्रमहरुमा सहभागी भए। काँग्रेसको एकताको कुरा गर्ने र विपीलाई आदर्श मान्ने दुबै पक्षका नेताहरु भने एकले अर्कालाई पार्टी विभाजनको दोषारोपण गर्न उद्दत र तल्लिन देखिन्थे ।
हुन त औपचारिक रुपमा नेपाली काँग्रेस विभाजन भएको छैन र विभाजन हुने बलिया आधारहरु पनि देखिँदैन तर नेताहरुको फरक कार्यक्रम र आरोप प्रत्यारोहरु सुन्दा काँग्रेस भावनात्मक रुपमा विभाजन भइसकेको हो कि भन्ने आभास शुभचिन्तकहरुलाई भएको छ ।
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता
नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिताको आयोजना गर्यो ।
ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गर्नुभएको हो।
कार्यक्रममा काँग्रेस सभापति गगनकुमार थापाले यो प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागेको बताउनुभयो ।
जङ्गल, जमिन लगायतका प्राकृतिक स्रोत साधनहरूलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याउनुभएको सभापति थापाले स्मरण गराउनुभयो।
जननायक विपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोत साधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उहाँको भनाइ थियो।
काँग्रेस इतर पक्षको कार्यक्रम प्रज्ञा भवनमा
विशेष अधिवेशनको विपक्षमा उभिएका काँग्रेसका पुराना नेता तथा कार्यकर्ताहरु निर्वाचनमा टिकट लिएर प्रतिश्पर्धा त गरे तर निर्वाचन पछि उही पुरानै अडान र अड्को थाप्न पछि परेनन । जसको फलस्वरुप अहिले संस्थापन इतरको नाममा उनीहरुले भेला र कार्यक्रमहरु गर्न सुरु गरेका छन।
४४औँ विपी स्मृति दिवसको अवसरमा काँग्रेसका पुराना नेताहरु आज काठमाडौँको प्रज्ञा भवनमा भेला भए र संस्थापन पक्ष र खासगरी सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाए ।
आफूहरु पुराना र पार्टीमा धेरै योगदान दिएको दावी गर्ने प्राय: सबै नेताहरुले पार्टी एकताको जरुरी भएको भन्न भने छाडेनन् । उनीहरुमध्ये कति नेताहरु त विशेष महाधिवेशन नै अबैधानिक हो भन्न पछि परेनन जवकी निर्वाचन आयोग र अदालतले समेत विशेष महाधिवेशनलाई बैधानिक भएको ठहर गरिसकेको छ ।
पुराना नेताहरु पूर्णबहादुर खड्का, डा शेखर कोइराला, प्रकाशमान सिंह, विजयकुमार गच्छेदार लगायतले पार्टी एकताको पक्षमा नै आफ्नो भनाइ राखे । तर इतर पक्षका केही युवा नेताहरु भने पार्टी कार्यालय कब्जा गर्नेदेखि नयाँ पार्टी बनाउनु पर्छ भन्ने सम्मको सुझाव पुराना नेताहरुलाई दिइराखेका थिए ।
विपी स्मृति दिवस मनाइरहँदा काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा भने देशमा नै छैनन । उनी विदेशमा उपचारका लागि गएका छन । हिजो मात्र सन्देश पठाएर नेपाल फर्कने जनाएका छन । देउवा नेपाल आएसँगै काँग्रेसको वहस र छलफल नयाँ शिराबाट सुरु हुने कतिपय नेता कार्यकर्ताको बुझाइ छ । देउवाले चाहे काँग्रेस फेरि एकताबद्ध भएर जाने धेरैले विश्वावस लिएका छन ।
बीपी: राजनीति र साहित्यिक क्षेत्रका अथक योद्धा
प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बिपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो ।
विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहूदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन् । उहाँका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, तथा हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरिएको छ ।
ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् ।
जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।
उहाँको प्रधानमन्त्रीत्वकालमा विर्ता उन्मुलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढेको थियो ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका आडमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।
एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।
विसंं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । उहाँले प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्किनुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्