रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

रोल्पा– अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ ।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्तिमगर घाईते भएका छन् । उनीहरु दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाईएको छ ।
उक्त पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । लगातार वर्षाको कारण लेदोसहितको पहिरो आईरहेको हुँदा उद्धार कार्यमा कठिनाई परेको छ ।
पहिरोमा परी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षिय कमल बहादुर पुन मगर, ४० वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षिय अशिम पुन मगर, ६ वर्षिय अशोक पुन मगर, ७५ वर्षिय दल बहादुर पुन मगर र ७१ वर्षिया मनरखी पुन मगर छन् ।
मृत्यु हुनेहरुमध्ये एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ता भएकाहरुको खोजीकार्यको लागि परिचालन भएको छ ।
त्यस्तै बेपत्ता भएकाहरुमा सोही ठाउँ बस्ने ८० वर्षिय अजम्बर पुन मगर, ७८ वर्षिय बल बहादुर पुन मगर, ७२ वर्षिय लिल बहादुर पुन मगर, ७१ वर्षिया मनि पुन मगर र ६७ वर्षिया हस्तकला पुन मगर छन् ।
उक्त पहिरोमा परी सोही ठाउँ बस्ने मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिदा पशु चौपाया समेत बेपत्ता भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.