स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासमा विशेष समारोह

सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान प्रदान गर्ने घोषणा

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासमा शनिबार विशेष समारोह आयोजना गरिएको छ। समारोहमा नेपालस्थित भारतीय समुदाय, भारतका नेपाली मित्रहरू, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता थियो।

कार्यक्रम ‘वन्दे मातरम्’ गानबाट सुरु भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराउनुभएको थियो भने राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधन पनि प्रसारण गरिएको थियो।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र सेनाका ज्यान गुमाएका ११ जना सुरक्षाकर्मीका विधवा तथा निकटतम हकदारलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरका चेक हस्तान्तरण गर्नुभयो।

दूतावासले स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरेको छ। ‘विकसित भारत’ विषयमा चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ र अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो। ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि सम्मान गरिएको थियो।

दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान प्रदान गर्ने घोषणा गरेको छ। उक्त पहल शैक्षिक सामग्रीमा पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाइएको दूतावासले जनाएको छ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.