गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो: प्रचण्ड

काठमाडौं– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढ्नुभएको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै उहाँमा नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताउनुभयो। आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहनुभएको स्मरण गर्दै उहाँले थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताउनुभयो।
‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु,’ प्रचण्डले भन्नुभयो।
विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनुभएको विषय आफैँमा ‘क्रमभंग’ भएको उहाँले बताउनुभयो। ‘यो क्रमभंग हो। निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ उहाँले भन्नुभयो।
प्रचण्डले कांग्रेसभित्र अझै छुट्नुभएका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई आग्रह गर्नुभयो। पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उहाँले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताउनुभयो।
थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने प्रचण्डले बताउनुभयो। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उहाँको भनाइ थियो।
‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भन्नुभयो।
उहाँले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताउनुभयो। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती काम समयमै टुंग्याउनुपर्ने बताउनुभयो। शान्ति प्रक्रियाका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उहाँको भनाइ थियो।
‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ। यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो।
मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
‘सबै मिलेर समृद्ध नेपालको विकास गर्न सबै मिलेर जानेछौँ भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो।






प्रतिक्रिया राख्नुहोस्