गोरखा, रसुवा र बाग्लुङका बाढी प्रभावित क्षेत्रलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय
गहुँको न्यूनतम समर्थन मुल्य निर्धारण

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको लागि गहुँ बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको प्रतिक्विन्टल समर्थन मूल्य ४ हजार १०७ रुपियाँ तोक्ने निर्णय गरेको हो ।
बैठकले बुढीगण्डकी नदीमा आएको बाढीबाट अति प्रभावित गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा १ र २ का साथै यही असोज ८ गतेदेखि ११ गतेसम्मको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित बागलुङ जिल्लाका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिका समेतलाई तीन महिनाको अवधिको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
बाढी प्रभावित यी स्थानीय तहका प्रभावित परिवारहरूले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि ४ जना सम्मको सदस्य सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार प्रतिमहिना १५ हजार र सोभन्दा बढी सदस्य भएको परिवारको लागि प्रतिसदस्य थप २ हजार प्रति महिना प्रदान गर्ने निर्णय बैठकले गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्तिक स्वीकृति दिने,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (गठन चौथो संशोधन) आदेश, २०८३ स्वीकृत गर्ने तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि सञ्चार मन्त्री डा तिमिल्सिनाले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्