फ्रान्सेली शहरहरुमा कर्फ्यू लगाउने तयारी, स्थानीय सरकारलाई थप अधिकार

एजेन्सी- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि शहरहरुमा कर्फ्यू लगाउन सक्ने गरी स्थानीय सरकारलाई अधिकार दिइएको छ । 

राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गर्दै आवश्यक परे प्रदर्शन र्‍यालीमा प्रतिबन्ध लगाउने भने लगत्तै प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सो अधिकार प्रत्यायोजन गरिएको जानकारी दिनुभएको छ । 

जनधनको क्षति रोक्न र नागरिकको सुरक्षा गर्न कर्फ्यू लगाउनु पर्ने अबस्था आएको प्रधानमन्त्रीको भनाइ छ ।

यसैबीच, गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सैनिक प्रहरी घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर छ ।

प्रदर्शनका क्रममा नगरपालिकाका भवनमा आगजनी तथा सयौँ व्यवसायमा लुटपाट र तोडफोड भएको छ ।

म्याक्रोनले वैध माग राखेर प्रदर्शन गर्ने र हिंसा तथा लुटपाटमा संलग्न हुनेहरूबीच भिन्नता गर्नुपर्ने बताउनुभयो । उहाँले सहरहरूमा अनियन्त्रित हिंसा फैलाउने अपराधी तथा अतिवामपन्थी समूहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइतबार पेरिसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र स्तब्ध पार्ने ग्रेनेड प्रहार गरेको थियो । अधिकारीहरूका अनुसार प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार भएको थियो ।

राजधानीमा १०८ जना पक्राउ परेका छन् भने रिपब्लिक स्क्वायर आसपास कम्तीमा पाँच पसल लुटिएका छन् । लियोनमा पनि पसल लुट्ने प्रयासका क्रममा झडप भएको छ ।

आगामी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भएको हिंसाले राजनीतिक बहससमेत चर्काएको छ ।

दक्षिणपन्थी नेसनल र्‍याली पार्टीकी नेतृ मरिन ले पेनले घटनाले म्याक्रोनको प्रशासन कमजोर र दिशाहीन भएको देखाएको टिप्पणी गर्नुभएको छ ।

कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिनुभएको छ । म्याक्रोनले भने हिंसाको सट्टा बहसमा आधारित निर्वाचन हुनुपर्ने बताउनुभयो ।

प्रदर्शनमा मजदुर सङ्गठन, ‘यल्लो भेस्ट’ आन्दोलनका सहभागी र विद्यार्थी सहभागी भएका थिए । उनीहरूले जीवनयापनको बढ्दो लागत तथा युवाहरूको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हिंसाका लागि आप्रवासनलाई दोष दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.