पहिरो पन्छाएपछि बीपी राजमार्ग सञ्चालनमा, रातिको यात्रा अझै जोखिमपूर्ण

काभ्रेपलाञ्चोक- अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग पहिरो र लेदो पन्छाएपछि आइतबार बेलुकादेखि सञ्चालनमा आएको छ।

शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानैदेखि यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो।

काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो, ढुङ्गा र लेदो हटाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। वर्षा रोकिएसँगै सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने कामलाई तिव्रता दिइएको थियो।

अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी तथा प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो।

राजमार्ग अवरुद्ध हुँदा बीपी राजमार्ग हुँदै राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका थिए।

सडक सञ्चालनमा आएपछि आवतजावत केही सहज भए पनि रातिको समयमा यात्रा जोखिमपूर्ण रहेको छ।

राजमार्गका धेरै स्थानमा सडक एकतर्फी रहेकाले सावधानी अपनाउनुपर्ने अवस्था छ। राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ जाने करिब ३०० देखि ४०० सवारीसाधन काभ्रेको भकुण्डेबेँसीमा रोकिएका थिए।

त्यसैगरी तराई क्षेत्रबाट काठमाडौँतर्फ आउने सयौँ सवारीसाधन नेपालथोकमा रोकिएका थिए। पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग २०८१ असोजमा रोशी खोलामा आएको बाढीका कारण भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडकमा क्षति पुगेको थियो।

बाढीले काभ्रेतर्फ २५.११ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो।

हाल क्षतिग्रस्त सडकका चार खण्डमा पुनर्निर्माणको काम भइरहेको छ।

पुनर्निर्माण जारी रहेकाले डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ।

सडक खुले पनि साँघुरो र एकतर्फी सडक तथा डाइभर्सनका कारण रातिको यात्रा अझै जोखिमपूर्ण रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.