पूर्व प्रधानमन्त्री नेपाल र पूर्व मन्त्री रिजाललगायत ९७ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ- पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व मन्त्री डा. मिनेन्द्र रिजाललगायत ९७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०६६ सालमा रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा विराटनगरमा रहेको सरकारी सार्वजनिक सम्पत्ति सट्टापट्टा गरी बिक्री गर्न दिने निर्णय मन्त्रीपरिषदबाट गराएको आरोप आयोगले लगाएको हो ।
आयोगले नेपाल र रिजालसहित ९७ जना विरुद्ध मुद्दा दायर गर्नुकासाथै प्रतिवादीहरुबाट ७३ करोड ४९ लाख रुपैयाँ मागदावी समेत गरेको छ ।
कम्पनीले २०३२ सालमा फलफूल उद्योगकालागि सुनसरी र मोरंग जिल्लामा राख्न पाएको हदबन्दीभन्दा बढी जमीन शर्त विपरित प्रयोग गरेको भन्दै सरकारले २०४८ सालमा जफत गरेको थियो ।
मोरङ्गमा रहेको जमिन बदनियतपूर्ण तरिकाले सट्टापट्टा गरी बिक्री गर्न दिने निर्णय गरी सरकारलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याएको आयोगले जनाएको छ ।
मुद्दा दायर गरिएकाहरुमा तत्कालीन सचिव, सहसचिव, उपसचिव तथा अन्य कर्मचारीसमेत रहेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्